News नेपाल र भारतबीचको खेलले तोडेको युरो–२०२० को रेकर्ड
गोलनेपाल

काठमाडौं । नेपालमा लोकप्रिय खेलकै रुपमा रहेको फुटबल खेल अन्तर्राष्ट्रिय स्तरमा नेपाल र भारतबीच हुँदा त्यसले थप अर्को रोमाञ्चक माहोल थप्ने गर्दछ ।

दक्षिण एसियाली फुटबलका यी दुई परस्पर प्रतिद्वन्द्वी बीच हुने खेलको प्रत्यक्ष प्रसारण हेर्न नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै दर्शकहरुको बाक्लो संख्या रहने गर्दछ ।

यसैबीच हाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करण अन्तरगत आइतबार लिग चरणको खेलका दौरान नेपाल र भारत आमने सामने हुँदा त्यसले एउटा रेकर्ड नै बनाएको छ ।

इन्टरनेट एक्सचेञ्ज नेपालका अनुसार नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड बनाएको छ । एक्सचेञ्जका अनुसार आइतबार राती नेपाल र भारत भिड्दा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको हो ।

एक्सचेञ्जका अनुसार युरो २०२० को बेला इन्टरनेट ट्राफिकले राखेको किर्तिमानलाई आइतबार नेपाल र भारतबीचको खेलले तोडेको छ । गत असार १५ मा भएको युरो २०२० को प्रिक्वाटरफाइनलतर्फ इङल्याण्ड र जर्मनी तथा फ्रान्स र स्वीजरल्याण्डबीचको खेल चल्दा नयाँ रेकर्ड बनेको थियो ।

एक्सचेञ्जका अनुसार त्यतिबेला देशभित्र इन्टरनेट खपत प्रतिसेकेण्ड ४९.८८९ जिबीसम्म पुगेको थियो । तर आइतबार नेपाल र भारतबीचको खेल चलिरहँदा इन्टरनेट ट्राफिक ५४.४४० जिबीसम्म पुगेको एक्सचेञ्जले जनाएको छ ।

केही सञ्चारमाध्यमहरुका अनुसार विभिन्न एपहरुले भिडियो सेवा दिंदा प्रत्यक्ष प्रसारण मोबाईल, ल्यापटप जस्ता ग्याजेटमा पनि हेर्न मिल्ने भएपछि स्थानीय ब्यान्डविथ खपतमा बृद्धि भएको बताइएको छ ।

Post Comments