News कतार विश्वकपमा छनौट हुने जर्मनी पहिलो टोली (भिडियोसहित)
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आगामी बर्ष एसियाली राष्ट्र कतारमा हुन गईरहेको प्रतिष्ठित फिफा विश्वकप फुटबल प्रतियोगितामा छनौट हुने जर्मनी पहिलो टोली बनेको छ ।

सोमबार राती उत्तरी मेसिडोनियामाथि ४–० को एकतर्फी जित निकालेपछि चारपल्टको विश्व च्याम्पियन जर्मनी दुई खेल अगावै कतार विश्वकपका लागि छनौट हुन सफल भएको हो ।

जर्मनीको जितमा दुई चेल्सी स्टार काई हेभर्ज र टिमो वेर्नरको नाममा तीन गोल रह्यो । ५०औं मिनटमा हेभर्जले जर्मनीका लागि गोलको खाता खोलेका थिए भने ७० र ७३औं मिनटमा टिमो वेर्नरले लगातार दुई गोल गर्दै टोलीको अग्रता तेब्बर बनाएका थिए । त्यस्तै थप एक गोल भने ८३औं मिनटमा जमल मुसिआलाले गरे ।

समूह जे मा रहेको जर्मनीले सोमबारको जितसँगै ८ खेलबाट २१ अंक जोड्दै समूहको शिर्ष स्थानमा छ र विश्वकपका लागि छनौट भएको छ । त्यस्तै १२ अंकका साथ तेस्रो स्थानमा रहेको उत्तरी मेसिडोनियाको सम्भावना कायमै छ ।

सोमबार नै अर्मेनियालाई १–० ले हराएको रोमानिया १३ अंकका साथ दोस्रो स्थानमा छ भने १२ अंक जोडेको अर्मेनिया चौथो स्थानमा छ । त्यस्तै लिचेस्टाईनलाई सोमबार ४–० ले हराएको आइसल्याण्ड ८ अंकका साथ पाँचौं स्थानमा रहँदा १ अंक जोडेको लिचेस्टाईन पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

आगामी बर्ष कतारमा हुँदैछ विश्वकप

स्मरण रहोस, विश्व फुटबलको कुम्भमेला आगामी बर्ष कतारमा हुँदैछ । विश्वकपको इतिहास मै पहिलोपटक आगामी बर्ष चिसो मौसममा प्रतियोगितामा हुने कार्यक्रम छ । कतारको तापक्रम सामान्य भन्दा बढी हुने भएपछि फिफा विश्वकप २०२२ पहिलोपटक २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने कार्यक्रम छ ।

Post Comments