ANFA प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
गोलनेपाल

सुन्दरहरैँचा । सुन्दर खोर्साने युवा क्लब, सुन्दरहरैँचाले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक गरेको छ । जेठ ९ गते सम्पन्न प्रतियोगितापछि शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिताको सम्पूर्ण आय-व्यय विवरण सार्वजनिक गर्दै प्रतियोगिताबाट ३ लाख ९१ हजार रुपैयाँ बचत भएको जानकारी दिएको हो ।

आयोजकका अनुसार प्रतियोगिताको सफल सञ्चालनपछि बचत भएको उक्त रकम खेलकुद पूर्वाधार विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा लगानी गरिनेछ । विशेष गरी गोल्डकप आयोजना गरिएको सुन्दरहरैँचा-१० स्थित सुकुना खेल मैदानको स्तरोन्नति, आवश्यक खेल सामग्री व्यवस्थापन तथा स्थानीय खेलाडीहरूको खेल विकासमा उक्त रकम खर्च गरिने योजना रहेको क्लबले जनाएको छ ।

क्लबका पदाधिकारीहरूले प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुमा स्थानीय सरकार, प्रायोजक संस्था, विभिन्न संघ-संस्था, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खेलप्रेमी दर्शकहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले प्राप्त सहयोग, सद्भाव र सहभागिताले प्रतियोगितालाई सफल बनाउन ठुलो योगदान पुगेको बताएका छन् ।

पहिलो संस्करणमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका टोलीहरूको सहभागिता रहेको उक्त गोल्डकपले सुन्दरहरैँचा क्षेत्रको खेलकुद गतिविधिलाई थप चलायमान बनाएको आयोजकको विश्वास छ ।

Post Comments