News बंगलादेशसँग भिड्न तयार छ नेपाल
गोलनेपाल

काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग १–० को साँघुरो अन्तरले पराजित भएपछि नेपाल पनि प्रतियोगिताको कठिन र निर्णायक मोडमा छ ।

शुरुवाती दुई खेल जितेर उत्साहित बनेको नेपाल समूह तालिकाको शिर्ष स्थानमा पनि छ । तर भारतसँगको हारले नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न बुधबार बंगलादेशसँगको खेल निर्णायक बन्न पुग्यो ।

यसपटक दक्षिण एसियाका पाँच देशहरु सम्मिलित प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ । ६–६ अंक जोडेका नेपाल र माल्दिभ्स तथा ५ र ४ अंक जोडेका भारत बंगलादेश यी चारै टोलीको फाइनल प्रवेशको सम्भावना कायम छ । जसको छिनोफानो बुधबार हुने दुई खेलहरुबाट निस्किने निश्चित पनि छ ।

“बंगलादेश विरुद्ध भिड्न तयार छौं”

बंगलादेश विरुद्ध हुने खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालका गोलरक्षक बिशाल श्रेष्ठले आफूहरुमाथि कुनै दबाब नरहेको स्पष्ट पारेका छन् । साथै उनले नेपाली टोली इतिहास रच्न पनि आत्तुर रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले भने, “यहाँसम्म आइपुग्न हामीले लामो समयदेखि कडा मिहिनेत गर्दै आइरहेका छौं । इतिहास रच्ने यो हाम्रो लागि राम्रो अवसर हो । र हामी यसका लागि तयार पनि छौं ।” बिशालले कुराकानी कै क्रममा पछिल्ला नतिजाहरुलाई बिर्सेर सकरात्मकताका साथ बंगलादेश विरुद्ध इतिहास रच्न आफूहरु तयार रहेको प्रतिक्रिया पनि दिए ।

उता पत्रकार सम्मेलन मै उपस्थित नेपाली टोलीका सहायक प्रशिक्षक किरन श्रेष्ठले पनि बंगलादेश विरुद्ध खेल्न आफ्नो टोलीको तयारी पूरा भएको र आफूहरु तयार पनि रहेको बताएका छन् ।

बंगलादेश विरुद्धको खेल सहज नहुने बताउँदै प्रशिक्षक श्रेष्ठले नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने बताए । र नतिजा आफु अनुकुल ल्याउँदै ऐतिहासिक फाइनलमा पुग्ने समेत उनले प्रतिक्रिया दिए ।

नेपाल र बंगलादेशबीचको खेल

जारी साफ च्याम्पियनसिपमा नेपालले यसअघि खेलेको तीन खेलहरु रातीको समय अर्थात ९ः४५ बजेदेखि शुरु भएको थियो । तर बंगलादेश विरुद्ध हुने निर्णायक खेल भने ४ः४५ बजेदेखि शुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले जनाएको छ ।

त्यस्तै बुधबार नै हुने अर्को खेलमा गत संस्करणको दुई फाइनलिस्ट विजेता माल्दिभ्स र उपविजेता भारतबीचको खेल राती ९ः४५ बजेदेखि शुरु हुनेछ । जुन खेल पनि दुवै टोलीका लागि अति महत्वपुर्ण छ ।

Post Comments