News भारत विरुद्ध आक्रमक खेल्ने योजनामा नेपाल
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित च्याम्पियनसिपको फाइनल खेल अघि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपाली टोलीका सहायक प्रशिक्षक किरन श्रेष्ठले भारत विरुद्ध आफूहरु आक्रमक खेल्ने बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक श्रेष्ठले भने, “हामी रक्षात्मक पनि खेल्नेछौं र आक्रमक पनि खेल्नेछौं । हामी आफ्नो पछिल्लो गल्ती सुधारेर फाइनलमा राम्रो खेल्नेछौं । साथै हामी उपाधिका लागि खेल्नेछौं ।”

कुराकानी कै क्रममा प्रशिक्षक श्रेष्ठले भारत विरुद्धको खेल सधै महत्वपुर्ण हुने चर्चा गरे । श्रेष्ठ भन्छन्, “भारत बलियो टोली हो । फाइनल खेल हाम्रा लागि कठिन हुनेछ । तर हामी त्यसका लागि तयार छौं । हामी आत्मविश्वासी छैनौं तर खेलाडीहरु पूर्ण अभिप्रेरित छन् ।”

साथै प्रशिक्षक श्रेष्ठले टिममा कुनै चोटको समस्या नरहेको र सबै खेलाडीहरु भारत विरुद्ध फाइनलमा उत्रिन तयार रहेको बताए । उता कप्तान किरन चेम्जोङले पनि भारत विरुद्धको फाइनल खेलका लागि आफू तयार रहेको बताएका छन् । उनले फाइनलमा गोर्खाली पारामा खेल्ने बताउँदै साफमा यसपटक इतिहास रच्ने लक्ष्य लिएको समेत बताए ।

नेपाल विरुद्ध भारत पनि सचेत

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय टोलीका सहायक प्रशिक्षक शनमुगम वेंकटेश तथा कप्तान सुनिल क्षेत्रीले नेपाली टोलीको प्रशंसा गरेका छन् ।

उनीहरुका अनुसार नेपालमा त्यति सारो स्टार खेलाडीहरुको जमात नभए तापनि नेपालले एउटा टिमका रुपमा उत्कृष्ट खेल्दै आएको बताएका छन् । साथै नेपाल फाइनलमा भारतका लागि प्रतिस्पर्धात्मक कठिन प्रतिद्वन्द्वी बन्ने समेत जिकिर गरे ।

स्मरण रहोस, लिग चरणको खेलमा नेपाल र भारत आमने सामने हुँदा अन्तिम केही मिनट लय गुमाउन नेपाल १–० ले पराजित भएको थियो । त्यो खेलमा भारतका लागि सुनिल क्षेत्रीले नै निर्णायक गोल गरेका थिए ।

पहिलोपटक साफको फाइनल खेल्दै नेपाल

त्यसैगरी बुधबार महत्वपुर्ण मानिएको खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपाल साफ च्याम्पियनसिपको इतिहास मै पहिलोपटक फाइनलमा पुग्न सफल भएको थियो ।

अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालले शनिबार त्यो इतिहास रच्ने अवसर पनि छ । तर त्यो अवसर त्यति सहज भने हुने छैन । सात पल्टको च्याम्पियन भारत उत्कृष्ट लयमा छ र बुधबार नै निर्णायक मानिएको अर्को खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै फाइनल यात्रा पक्का गरेको थियो ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने फाइनल खेल नेपाली समयअनुसार ८ः४५ बजेदेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments