News नेपाल भर्सेस भारत फाइनलः इतिहास रच्ने अवसर
सुरज राना मगर

काठमाडौं । प्रतिष्ठित साफ च्याम्पियनसिपको फाइनलमा आज भारत विरुद्ध भिड्दा नेपालको लक्ष्य उपाधि जित्दै इतिहास रच्नु हुनेछ । प्रतियोगिताको इतिहास मै पहिलोपटक फाइनल पुगेको नेपालसँग त्यो स्वर्णिम अवसर छ । तर त्यसमा भारत बाधक बन्न पनि सक्छ ।

सात पल्टको च्याम्पियन र गत संस्करणको उपविजेता समेत रहेको भारत उपाधिको बलियो प्रत्याशीका रुपमा उभिएको छ । अनुभवी र राम्रा खेलाडीहरुको सम्मिश्रण रहेको भारतीय टोलीसँग उपाधि जित्ने क्षमता पनि छ । एक समय प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको भारतले लिग चरणको खेल सकिंदासम्म समूहको शिर्ष स्थानमा रहेर फाइनलमा पुग्न सफल भयो ।

उता नेपालको शुरुवात भने उत्कृष्ट रह्यो डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र श्रीलंकालाई हराएर शिर्ष स्थानमा पुगेको नेपाल तेस्रो खेलमा भारतसँग हार्दा गोर्खालीको फाइनल प्रवेशको यात्रा कठिन बन्न पुगेको थियो । लिग चरणको निर्णायक र अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि नेपालको एतिहासिक फाइनल प्रवेशको योजना पूरा भएको थियो ।

भारतसँग खेल्न तयार छ नेपाल

फाइनल खेल अघि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नेपाली टोलीका सहायक प्रशिक्षक किरन श्रेष्ठले भारत विरुद्ध आफूहरु आक्रमक खेल्ने बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक श्रेष्ठले भने, “हामी रक्षात्मक पनि खेल्नेछौं र आक्रमक पनि खेल्नेछौं । हामी आफ्नो पछिल्लो गल्ती सुधारेर फाइनलमा राम्रो खेल्नेछौं । साथै हामी उपाधिका लागि खेल्नेछौं ।”

कुराकानी कै क्रममा प्रशिक्षक श्रेष्ठले भारत विरुद्धको खेल सधै महत्वपुर्ण हुने चर्चा गरे । श्रेष्ठ भन्छन्, “भारत बलियो टोली हो । फाइनल खेल हाम्रा लागि कठिन हुनेछ । तर हामी त्यसका लागि तयार छौं । हामी आत्मविश्वासी छैनौं तर खेलाडीहरु पूर्ण अभिप्रेरित छन् ।”

साथै प्रशिक्षक श्रेष्ठले टिममा कुनै चोटको समस्या नरहेको र सबै खेलाडीहरु भारत विरुद्ध फाइनलमा उत्रिन तयार रहेको बताए । यद्यपि दुई पहेंलो कार्ड खाएका अन्जन बिष्ट आज नेपाली टिममा हुने छैनन् भने बंगलादेश विरुद्धको खेल अघि अभ्यासमा चोटिल बनेका पुजन उपरकोटीको खेल्ने अझै अनिश्चित छ ।

उता कप्तान किरन चेम्जोङले पनि भारत विरुद्धको फाइनल खेलका लागि आफू तयार रहेको बताएका छन् । उनले फाइनलमा गोर्खाली पारामा खेल्ने बताउँदै साफमा यसपटक इतिहास रच्ने लक्ष्य लिएको समेत बताए ।

भारतलाई केही चोट कै समस्या

प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको डिफेन्डर शुभाषिस बोसले माल्दिभ्स विरुद्धको महत्वपुर्ण खेलमा रातो कार्ड खाएपछि उनले फाइनल गुमाउने निश्चित छ । त्यस्तै अर्का अनुभवी खेलाडी फारुख चौधरी पनि फाइनलमा अनुपस्थित हुने लगभग तय छ । लिग चरणमा नेपाल विरुद्ध खेल्दा घाइते बनेका चौधरी अझै चोटिल छन् ।

अर्का नियमित मिडफिल्डर ब्रेन्डन फर्नान्डेस पनि चोटिल छन् । र उनको फाइनल खेल्ने अझै निश्चित भईसकेको छैन । त्यस्तै माल्दिभ्स विरुद्ध अन्तिम समयमा रातो कार्ड खान पुगेको मुख्य प्रशिक्षक इगोर स्टिम्याक पनि आज टोलीसँगै टचलाईनमा बस्न पाउने छैनन् ।

भारतीय टोलीका सहायक प्रशिक्षक शनमुगमन वेंकटेश र कप्तान सुनिल क्षेत्रीले नेपाललाई हलुका रुपमा नलिने स्पष्ट पारिसकेका छन् । साथै नेपाल पनि राम्रो लयमा रहेकोले फाइनलमा कठिन प्रतिद्वन्द्वीका रुपमा नेपाललाई हेरेको प्रतिक्रिया दिएका छन् ।

खेल समय र खेलस्थल

आज हुने फाइनल खेल नेपाली समयअनुसार ८ः४५ बजेदेखि शुरु हुने साफले जानकारी दिएको छ । जुन खेल माल्दिभ्सको राजधानी माले सिटी स्थित नेशनल फुटबल स्टेडियमा हुनेछ । नेपालमा खेलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार एक्सन स्पोर्टसले पाएको छ ।

Post Comments