News साफ क्लब च्याम्पियनसिप हुने
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अबको एक महिना भित्र आफ्नै वार्षिक क्यालेण्डर तयार गरि सोही अनुसार दक्षिण एसियामा फुटबल कार्यक्रम आयोजना गर्ने बताएको छ ।

माल्दिभ्समा बसेको साफ कँग्रेसले वार्षिक क्यालेण्डरदेखि लिएर विभिन्न फुटबल कार्यक्रम गर्नेबारे घोषणा गरेको हो । साफले दक्षिण एसियामा फुटबल विकासको कार्यक्रमलाई थप महत्वका साथ अगाडी बढाउने बताएको छ ।

वार्षिक क्यालेण्डर सार्वजनिक गरेपछि सोही क्यालेण्डरमा आगामी संस्करणको साफ च्याम्पियनसिपको मिति र आयोजना स्थलदेखि लिएर क्लब साफ च्याम्पियनसिपबारे जानकारी गराउने साफले जनाएको छ ।

स्मरण रहोस, साफ च्याम्पियनसिपको १३औं संस्करण यसअघि बंगलादेशमा हुने तय भएको थियो । तर अन्तिम समयमा आएर प्रतियोगिता स्थल माल्दिभ्स तोकिएको थियो । साथै प्रतियोगिता आयोजनाका लागि नेपाल र श्रीलंका पनि इच्छुक थिए । जसमा नेपालले आयोजना गर्ने सम्भावना बलियो पनि थियो । तर अन्तिम समयमा आएर साफले त्यो आयोजना अधिकार माल्दिभ्सलाई दिएको थियो ।

लिग च्याम्पियनले साफ क्लब च्याम्पियनसिप खेल्न

दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अनुसार साफ क्लब च्याम्पियनसिपमा दक्षिण एसियामा रहेका देशको लिग च्याम्पियनहरुले सहभागिता जनाउने छन् ।

साफ क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने क्लबहरुले अन्य प्रतियोगितामा पनि सहभागिता जनाउन पाउने बताइएको छ । साथै साफले प्रत्येक देशको शिर्ष लिग सम्पन्न भएपछि मात्र साफ क्लब च्याम्पियनसिप आयोजना गर्ने बनाएको छ ।

त्यस्तै क्लब च्याम्पियनसिपको मिति र खेलस्थलबारे विस्तृत रुपमा साफको वार्षिक क्यालेण्डर सार्वजनिक गरेपछि मात्र थाहा हुने बताइएको छ । स्मरण रहोस, यस बर्ष नेपालको शिर्ष लिग यहि कार्तिक २९ गतेदेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments