News एउटै खेलमा कनकाईले गर्यो १९ गोल
गोलनेपाल

काठमाडौं । जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितातर्फ लगातार दोस्रो जित निकाल्ने क्रममा कनकाई नगरपालिकाले शनिबार फराकिलो जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न समूह ए तर्फको आफ्नो दोस्रो खेलमा कनकाईले महालक्ष्मी नगरपालिका माथि १९–० को भारी अन्तरको जित निकाल्यो ।

समूह ए मै रहेको अर्को बलियो टोली बागमती नगरपालिकाले पनि लगातार दोस्रो जित हात पार्ने क्रममा गोदावरी नगरपालिका माथि ७–० को जित दर्ता गर्यो । अब समूह ए बाट नकआउट चरणमा प्रवेश गर्ने एक टोलीको टुंगो बागमती र कनकाई बीचको खेलको नतिजाबाट लाग्नेछ ।

त्यस्तै शनिबार नै भएको समूह बी तर्फको एक मात्र खेलमा ललितपुर महानगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०–० ले हरायो । लगातार दोस्रो हार बेहोरेको कागेश्वरी प्रतियोगिताबाट बाहिरिएको छ ।

अब समूह बी बाट नकआउट चरणमा पुग्ने एक टोलीको टुंगो कालिका नगरपालिका र ललितपुर महानगरपालिका बीचको खेलबाट तय हुनेछ । स्मरण रहोस, कालिका नगरपालिकाले पनि आफ्नो पहिलो खेलमा कागेश्वरीलाई समान १०–० अन्तरले हराएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । फाइनल खेल यहि कार्तिक २८ गतेका दिन हुनेछ ।

Post Comments