News दुहबीमा शुरु भयो नकआउट फुटबल, सिमरियाको विजयी शुरुवात
गोलनेपाल

दुहबी । शनिबारदेखि शुरु प्रथम नकआउट खुल्ला फुटबल प्रतियोगितामा सिमरिया फुटबल क्लब, दुहबी–१०, सुनसरीले विजयी शुरुवात गरेको छ ।

दुहबी–५ स्थित श्री सरस्वती उ.मा.वि. को खेलमैदानमा भएको उद्घाटन खेलमा सिमरियाले बाँसबारी फुटबल क्लब, मोरङलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

सिमरियाको जितमा खेल शुरु भएको दोस्रो मिनटमै प्रलाद चौधरीले पहिलो गोल गरेका थिए भने ५५औं मिनटमा कबिन्द्र चौधरीले दोस्रो गोल थपेका थिए । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो ।

उता बाँसबारीका लागि ३२औं मिनटमा बिकास खवासले एक मात्र गोल फर्काएका थिए । शनिबारको खेलमा सिमरियाका नबिन कामत म्यान अफ द म्याच घोषित भए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष रमेश रौनियारले पुरस्कृत गरे ।

यो जितसँगै सिमरिया प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत कार्तिक ७ गते आइतबारको खेल युथ फर प्लानिङ एण्ड एक्शन, भमरी, सुनसरी र भवानीपुर एकता क्लब, बुढिगंगा मोरङबीच हुने आयोजकले जनाएको छ ।

युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीको आयोजना तथा दुहबी नगरपालिका वार्ड नम्बर ५ को कार्यालयको संयोजनमा शुरु प्रतियोगिताको फाइनल खेल आउँदो कार्तिक १५ गतेका दिन हुनेछ ।

 

Post Comments