News रोहितको टिम जकार्ताको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहित चन्दको क्लब पर्सिजा जकार्ताले इण्डोनेसियन शिर्ष लिगमा शनिबार उत्कृष्ट पूनःरागमन गर्दै बराबरी खेलेको छ ।

खेलमा दुईपटक पछि परेको जकार्ताले रोमाञ्चक पूनःरागमन गर्दै पेर्सिकसँग २–२ गोलको बराबरी खेलेर अंक खोस्न सफल भयो । पेर्सिकको घरेलु मैदानमा सम्पन्न खेलको १५औं मिनटमा डियोनाटन माचाडोको गोलबाट पेर्सिकले खेलमा अग्रता बनाएको थियो ।

तर ३५औं मिनटमा अल्फ्रियान्टो निकोले जकार्ताका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । यद्यपि पहिलो हाफ कै ४३औं मिनटमा युसेफ एजेजारीको गोलबाट पेर्सिकले खेलमा दोस्रोपटक अग्रता बनायो ।

त्यो अग्रता पनि पेर्सिकले जोगाउन सकेन । दोस्रो हाफ शुरु भएको तेस्रो मिनटमै मार्को सिमिकले जकार्ताका लागि दोस्रो गोल फर्काउँदै खेललाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा रोहितको पनि प्रभावशाली प्रदर्शन रह्यो । टोलीको मध्यपंक्ति सम्हालेका रोहितले जकार्ताका लागि प्लेइङ स्क्वाड मै रहेर पेर्सिक विरुद्ध खेलेका थिए ।

शनिबारको नतिजापछि १० खेलबाट १४ अंक जोडेको जकार्ता लिगतालिकाको छैठौं स्थानमा छ । पेर्सिक भने ९ अंकका साथ १४औं स्थानमा छ । शिर्ष स्थानमा भने समान २२–२२ अंक जोडेका पेर्सिब र भयंकारा छन् ।

 

Post Comments