News कैलाश कप : आयोजकको दुबै टोली प्री क्वाटरफाइनलमा
गोलनेपाल

कैलाश कप सेभेन ए साइड फुटबलमा आज (शनिबार) एकै दिन समूह चरणका पाँच खेल सम्पन्न भएको छ ।

भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा कालिका ८ गैरिवारी बिजयी भएको छ । गैरिवारीले युनिक एफसीलाई १-० ले पराजित गरेको हो । दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब 'ए' ले फ्रेण्ड्ली फुटबल क्लब माडीलाई २-१ ले पराजित गरेको छ । आयोजकको जितमा कृष्ण गुरुङले दुबै गोल गरे । आजको तेस्रो खेलमा खेतबारी एफसीले अकलादेवी एफसी दासढुङ्गालाई २-० ले पराजित गरेको छ । खेतबारीको जितमा आशिश गजुरेलले दुबै गोल गरे ।

चौथो खेलमा युनिक एफसी 'बी' ले साहारा क्लब मनहरीलाई ३-० ले पाखा लगायो । पाँचौ तथा अन्तिम खेलमा आयोजक कैलाश युथ क्लब 'बी' ले भरतपुर ६ लाई १-० ले पाखा लगायो । कैलाशको जितमा सविन क्षेत्रीले निर्णायक गोल गरे । प्रतियोगितामा आईतवार समूह चरणका अन्तिम तीन खेल हुनेछ । आइतवार पहिलो खेलमा एफसीएन नौरङ्गे र एएफसी पिपलटार भिड्नेछन् भने दोस्रो खेलमा बागेश्वरी एफसी र गङ्गोत्री एफसी भिड्नेछन् ।

आइतवार नै समूह चरणको अन्तिम खेलमा क्षेत्रपुर फुटसल एरिना र भरतपुर ९ भिड्नेछन् । आइतवार नै प्री क्वाटरफाइनलका दुई खेल पनि हुनेछ । पहिलो खेलमा सर्वश्रेष्ठ नारायणी एफसी र चण्डीभन्ज्याङ एफसी भिड्नेछन् । सर्वश्रेष्ठ वनदेवीलाई तथा चण्डीभन्ज्याङ आँपटारी एफसीलाई पराजित प्री क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्री क्वाटरफाइनलको दोस्रो खेलमा आइतवार नै राइजिङ स्टार देवघाट र दासढुङ्गा एफसी भिड्नेछन् । देवघाट बेलगारी दमौलीलाई तथा दासढुङ्गा भालुमारा एफसीलाई पाखा लगाउदै प्री क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका हुन् ।

३२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल १७ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

Post Comments