News साविक विजेता फ्रान्स विश्वकपका लागि छनौट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन फ्रान्स फराकिलो जितका साथ आगामी बर्ष कतारमा हुने प्रतिष्ठित फिफा विश्वकपका लागि छनौट भएको छ ।

युरोपियन छनौटको समूह डी मा रहेको फ्रान्सले शनिबार राती कजाखस्तानमाथि ८–० को फराकिलो जित निकाल्यो । पेरिस स्थित घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा फ्रान्सका लागि काइलन एम्बाप्पेले ह्याटिक सहित चार गोल गरे ।

एम्बाप्पेले खेलको ६, १२ र ३२औं मिनटमा लगातार तीन गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । दोस्रो हाफको ५५ र ५९औं मिनटमा करिम बेन्जेमाले थप दुई गोल गर्दा फ्रान्सको अग्रता ५–० मा पुगेको थियो । ७५औं मिनटमा एड्रिन रेबियोले छठौं गोल थपे भने ८४औं मिनटमा एन्टोइन ग्रीजम्यानले पेनाल्टीबाट साँतौं गोल गरे ।

त्यस्तै लगतै ८७औं मिनटमा एम्बाप्पेले नै व्यक्तिगत चौथो तथा टोलीका लागि आठौं गोल गर्दै विश्व विजेताको शानदार जित पक्का गरे । यो जितसँगै ७ खेलबाट १५ अंक जोडेको फ्रान्स समूह डी को शिर्ष स्थानमा छ र विश्वकपका लागि छनौट भएको छ । त्यस्तै शनिबार नै बोस्निया एण्ड हर्ज गोभिनालाई ३–१ ले हराएको फिनल्याण्ड ११ अंकका साथ दोस्रो स्थानमा छ ।

९ अंक जोडेको युक्रेन तेस्रो स्थानमा छ भने ७ अंक जोडेको बोस्निया चौथो स्थानमा छ । त्यस्तै ३ अंक मात्र जोडेको कजाखस्तान पुछारमा छ । समूह डी बाट बोस्निया र कजाखस्तान भने छनौट प्रतियोगिताबाट बाहिरिएका छन् ।

Post Comments