News आयोजक दुहबी भेट्रान (रातो) सेमिफाइनलमा
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जितका साथ आयोजक दुहबी भेट्रान फुटबल क्लब यहाँ जारी प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमफिाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा कुलिफुयाङ भेट्रान क्लब, मोरङलाई टाईब्रेकरमा ३–१ ले हराउँदै दुहबी भेट्रान (रातो) ले सेमिफाइनल यात्रा तय गरेको हो । त्यसअघि श्री सरस्वती उमाविको खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको १५औं मिनटमा खगेन्द्र घिमिरेको गोलबाट अग्रता बनाएको दुहबीले त्यसलाई जोगाउन नसक्दा टाईब्रेकरसम्म संघर्ष गर्नुपर्यो । उता कुलिफुयाङका लागि २०औं मिनटमै महानन्द राजवंशीले बराबरी गोल फर्काउन सफल भएका थिए ।

खेलमा आयोजक दुहबीका दर्शन कोयु राई म्यान अफ द म्याच घोषित भए । उनलाई मनमोहन स्पोर्टस एकेडेमीका अध्यक्ष डा. सुभाष पोख्रेलले नगदसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक २८ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल जनता भेट्रान क्लब, इटहरी र बिराट बुद्ध भेट्रान क्लब, बिराटनगरबीच हुने आयोजकले जनाएको छ ।

दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल मंसिर ४ गतेका दिन हुनेछ ।

Post Comments