News अन्तर विद्यालय फूटवल प्रतियोगिता हुने
गोलनेपाल

ग्रासरुट फाउण्डेशनले सिमरामा नगर स्तरीय अन्तर विद्यालय फूटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । शिक्षा संगै खेलकुद भन्ने नाराका साथ फाण्डेशनले मंसीर १६ गतेदेखी प्रतियोगिता आयोजना गर्न लागेको हो ।

दक्ष खेलाडी पहिचान र उत्पादन गर्ने लक्ष्य सहित जीतपुरसिमरा उपमहानगरभित्रका निजि तथा सामुदायिक विद्यालयको सहभागिता गराई प्रतियोगिता आयोजना गर्न लागिएको फाउण्डेशनका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । थापाका अनुसार प्रतियोगितामा २० विद्यालयको सहभागिता हुनेछ । Ôहामीले २० विद्यालयलाई पत्राचार गरेका छौं । ति विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना हुनेछ", थापाले भने ।

सिमरा रंगशालामा आयोजना गरिने प्रतियोगिताबाट राम्रा खेलाडी पहिचान गर्ने र ति खेलाडी छनौट गरी आवश्यक प्रशिक्षण दिई दक्ष बनाउने प्रतियोगिताको लक्ष्य रहेको थापाको भनाई छ । स्कुले विद्यार्थीलाई लक्षित गरी फाउण्डेशन स्थापना गरी पहिलो प्रतियोगिता आयोजना गर्न लागिएको थापाले बताए ।

प्रतियोगिता आयोजक समितिका संयोजक सोनु क्षेत्रीले प्रतियोगितामा सहभागी हुने विद्यालयका विद्यार्थीहरुमध्ये उत्कृष्टलाई प्रशिक्षण दिएर दक्ष बनाउन सके फूटवलको विकासमा टेवा पुग्ने बताए । अखिल नेपाल फूटवल संघ (एन्फा) ले सिमरामा संचालन गर्दै आएको ग्रासरुट फूटवलको प्रशिक्षक समेत रहेका क्षेत्रीले राम्रा खेलाडी उत्पादन गर्न सकिनेमा आफू आशावादी समेत रहेको बताए ।

प्रतियोगितालाई प्राणनाथ हार्डवेयरले मुख्य प्रायोजन गर्ने भएको छ भने युआर गोल्ड प्रिमियन मसला चियाले सहप्रायोजन गर्न लागेको छ । करिब ६ लाख अनुमानि बजेट रहेको प्रतियोगितामा विभिन्न विधाका खेलाडीलाई समेत पुरस्कृत गर्ने तयारी रहेको आयोजक कमिटीका सदस्य बसन्त ढकालले जानकारी दिए ।

फूटवलको विकासमा ठुलो सहयोग पुग्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएकाले सबै पक्षबाट सहयोगको आवश्यकता रहेको ढकालले बताए । उनका अनुसार प्रतियोगितामा छनौट भएका खेलाडीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा हुने विद्यालय स्तरिय फूटवल प्रतियोगिताको अनुभव गराउन समेत आफूहरुले पहल गर्ने बताए ।

छनौट भएका खेलाडीलाई देशभित्र हुने अन्तरविद्यालय स्तरीय फूटवलमा सहभागी गराउने र युरोपियन देशमा हुने फूटवलको प्रत्यक्ष अनुभव गराउन समेत पहल गरिनेछ Õ ढकालले भने ।

फाउण्डेशनका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष रिता कंडेल, जन जागृति युवा क्लबका महासचिव शम्भुसिंह ठकुरी, श्याम सुवेदीलगायतको उपस्थिती रहेको थियो ।

Post Comments