News चीनसँग रोकियो अष्ट्रेलिया, जापानले लियो ओमानसँग बदला
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपको २०२२ को एसियाली छनौटतर्फ तेस्रो चरणको खेलमा समूह बी मा रहेको चीनले बलियो अष्ट्रेलियालाई बराबरीमा रोक्दै अंक खोसेको छ । युएईको शारजहाँमा भएको खेलमा चीनले अष्ट्रेलियालाई १–१ को बराबरीमा रोक्दै अंक खोसेको हो ।

खेलको ३८औं मिनटमा मिचेल ड्युकको गोलबाट अग्रता लिएको अष्ट्रेलियाले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफमा चीनले पेनाल्टीको अवसर पायो । जसलाई ७१औं मिनटमा वु लेईले गोलमा परिणत गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

समूह बी कै अर्को खेलमा एसियन पावर हाउस जापानले ओमानमाथि १–० को जित निकाल्यो । जापानका लागि जुन्या इटोले ८१औं मिनटमा एक मात्र निर्णायक गोल गरे । स्मरण रहोस, इटोले यसअघि गत बिहीबार भएको भियतनाम विरुद्धको खेलमा पनि निर्णायक गोल गरेका थिए । यो जितसँगै जापानले ओमानसँग पहिलो लेगमा बेहोरेको हारको बदला पनि लिएको छ ।

समूह बी को तेस्रो खेलमा साउदी अरबले भियतनाममाथि १–० को जित निकाल्यो र आफ्नो अपराजित यात्रालाई कायम राख्यो । ६ खेलको समाप्तीसम्म १६ अंक जोडेको साउदी शिर्ष स्थानमा छ । १२ अंकका साथ जापान दोस्रो स्थानमा छ भने ११ अंक जोडेको अष्ट्रेलिया तेस्रो स्थानमा झरेको छ ।

त्यस्तै ७ अंकका साथ ओमान चौथो स्थानमा रहँदा ५ अंक जोडेको चीन पाँचौं स्थानमा छ । अंकविहीन भियतनाम भने पुछारमा छ ।

Post Comments