News इरानले महिला फुटबलमा पुरुष खेलाडी खेलाएको जोर्डनको आरोप
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जोर्डनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो कट्टर प्रतिद्वन्द्वी इरानमाथि महिला फुटबलमा पुरुष खेलाडी खेलाएको अनौठो आरोप लगाएकोे छ । साथै यसबारे छानबिन गर्न एसियाली फुटबल महासंघ (एएफसी) समक्ष माग समेत गरेको छ ।

एएफसी वुमन्स एसियन कपको छनौट प्रतियोगिता अन्तरगत समूह जी मा परेका यी दुई टोलीबीच गत सेप्टेम्बर २५ मा भएको समूह चरणको निर्णायक भिडन्तमा इरानले जोर्डनलाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै पहिलोपटक वुमन्स एसियन कपमा छनौट हुन सफल भएको थियो ।

त्यो खेलमा इरानकी गोलरक्षक जोहरी कुदाई (तस्विरमा) ले जोर्डनको दुई पेनाल्टी रोक्दै इरानलाई ऐतिहासिक सफलता दिलाएकी थिईन् । यद्यपि अहिले आएर जोर्डन फुटबल एसोसिएशनले उनको लिङ्ग (पुरुष वा महिला) प्रमाणित गर्न आवश्यक छानबिन गर्न माग गरेको छ ।

यसबारे छानबिनका लागि जोर्डन एफएका अध्यक्ष प्रिन्स अली बिन अल हुसेनले एएफसीलाई पत्र समेत पठाईसकेका छन् । पत्रमा “खेलाडीहरुको लिङ्ग छानबिन गर्न अनिवार्य नभए तापनि सम्बन्धित खेलाडीहरुको योग्यतामाथि आशंका भए एएफसीको नियमानुसार त्यसबारे आवश्यक छानबिनका लागि अनुरोध गर्न सकिने प्रावधान रहेको” भनि उल्लेख गरिएको छ ।

साथै पत्रमा इरानको पछिल्लो पृष्ठभूमि हेर्दा पनि इरानी खेलाडीहरु लिङ्ग परिक्षण तथा डोपिङमा असफल भएको पाइएकोले यसबारे पनि स्वतन्त्र छानबिन गर्न माग गरिएको छ । फिफाको पूर्व उपाध्यक्ष समेत रहेका प्रिन्स अलीले यो गम्भिर मुद्दा भएको र यसबारे छानबिन गर्न माग समेत गरेको बताएका छन् ।

इरानकी ३२ बर्षिय गोलरक्षक जोहरी कुदाईले भने यसबारे पटक–पटक सफाई दिंदै आफ्नो बचाउ पनि गर्दै आइरहेकी छिन् । उता इरानले पनि जोर्डनको यो आरोपलाई निराधार बताएको छ ।

 

 

Post Comments