News अधुरै रह्यो श्रीलंकाको घरमा उपाधि उचाल्ने सपना
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आयोजक श्रीलंकाको घरमै सम्पन्न चार देशीय प्राईम मिनिस्टर महिन्दा राजपक्ष ट्रफीको उपाधि उचाल्ने सपना अधुरो बनेको छ । फाइनलमा अफ्रिकी टोली सेसेल्ससँग पेनाल्टी शुटआउटमा ३–१ ले पराजित भएपछि श्रीलंकाको त्यो सपना अधुरो भएको हो ।

कोलोम्बो स्थित रेसकोर्ष ग्राउण्डमा श्रीलंकाले तीनपल्ट लिएको अग्रतालाई जोगाउन नसक्दा अन्ततः पेनाल्टीमा निराश बन्न पुग्यो । खेलको चौथो मिनटमै मार्विन हेमिल्टनको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । तर पहिलो हाफ कै इन्जुरी समयमा जिनले सेसेल्सका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको ५७औं मिनटमा मोहम्मद अकिबले श्रीलंकाका लागि दोस्रो गोल थपे । ७५औं मिनटमा अहमद रजिकले पेनाल्टीबाट तेस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा ३–१ को स्थितिमा ल्याएका थिए । तर अन्तिम समय श्रीलंका सम्हालिन सकेन ।

८५औं मिनटमा रहुमानले आत्मघाती गोल गर्दा खेल ३–२ को स्थितिमा आयो भने ९०औं मिनटमा एलिजाह तम्बुले सेसेल्सका लागि तेस्रो गोल फर्काउँदै पाहुना टोलीलाई नाटकीय रुपमा खेलमा फर्काएका थिए ।

पेनाल्टी शुटआउटमा भने दुवै पक्षबाट ४–४ खेलाडीले पेनाल्टी प्रहार गरेका थिए । जसमा सेसेल्सले तीन प्रहारलाई गोलमा परिणत गर्यो भने श्रीलंकाले ठिक विपरित तीन प्रहारलाई गोलमा परिणत गर्न असफल भएको थियो ।

स्मरण रहोस, सेसेल्सले लिग चरणको खेलमा पनि श्रीलंकालाई १–० ले हराएको थियो । प्रतियोगितामा माल्दिभ्स र बंगलादेशले पनि सहभागिता जनाएका थिए । तर यी दुवै टोली समूह चरणबाटै बाहिरिन बाध्य भएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी श्रीलंकाका सुजन परेरा घोषित भए भने गोल्डेन बुट पुरस्कार पनि प्रतियोगिताभरि कुल ७ गोल गरेका अहमद रजिकले हात पार्न सफल भए । विजयी खेलाडीहरुलाई फिफा अध्यक्ष जियानी इनफेन्टिनो लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments