News रोहितको टोली जकार्ताको लगातार दोस्रो हार
गोलनेपाल

काठमाडौं । इण्डोनेसियन सुपर लिगमा व्यस्त नेपालका स्टार मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इण्डोनेसियन सुपर लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।

बिहीबार मात्र बाली युनाइटेडसँग १–० ले पराजित भएको जकार्ताले सोमबार बोर्नियोसँग २–१ को हार बेहोर्न पुग्यो । खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा जकार्ता निराश बन्न पुग्यो ।

खेलको २०औं मिनटमा मार्को सिमिकको गोलबाट जकार्ताले खेलमा अग्रता लिएको थियो । तर ४९औं मिनटमा फ्रान्सिस्को टोरेजले बोर्नियोका लागि पेनाल्टीबाट बराबरी गोल फर्काए । त्यस्तै अन्तिमतिर इन्जुरी समयमा वावन फेब्रिआन्टोले दोस्रो तथा निर्णायक गोल गर्दै बोर्नियोलाई रोमाञ्चक जित दिलाए ।

दोस्रो गोल गरे लगतै बोर्नियोका स्ट्राइकर मुहम्मद सिरानले रातो कार्ड खाँदै मैदान छाडे तापनि त्यसले बोर्नियोको जितमा खासै बाधा भने परेन । सोमबारको हारपछि १४ खेलबाट १८ अंक जोडेको जकार्ता लिगतालिकाको दशौं स्थानमा पुगेको छ । बोर्नियो भने २२ अंकका साथ सातौं स्थानमा छ ।

खेलमा रोहितले शुरुवातबाटै अन्तिम सम्म खेले । तर उनको एकल प्रदर्शन र प्रयास जकार्तालाई हारबाट जोगाउन प्रर्याप्त बनेन । जकार्ताले आफ्नो आगामी खेल शुक्रबार टिरा पर्सिकाबोसँग खेल्ने कार्यक्रम छ ।

 

Post Comments