News वार्ड नम्बर २ र १६ क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । आ–आफ्नो खेलमा जित हात पार्दै वार्ड नम्बर २ र वार्ड नम्बर १६ यहाँ जारी इटहरी रनिङ कप वार्डस्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

इटहरी स्थित क्षेत्रीय रंगशालामा मंगलबार भएको पहिलो खेलमा वार्ड नम्बर २ ले वार्ड नम्बर ८ लाई २–१ ले हरायो । खेलमा वार्ड नम्बर ८ ले अग्रता बनाएर पनि हार्न पुग्यो । खेलको आठौं मिनटमा बिरेन भुजेलको गोलबाट अग्रता बनाएको वार्ड नम्बर ८ ले त्यसलाई जोगाउन सकेन ।

उता वार्ड नम्बर २ का लागि ३७औं मिनटमा बिबेक राईले बराबरी गोल फर्काए भने ५२औं मिनटमा सजिवन राईले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । निर्णायक गोलकर्ता सजिवन राई म्यान अफ द म्याच समेत चुनिए । उनलाई प्रमुख अतिथी हाम्रो भेट्रान क्लब, इटहरीका सचिव तथा पूर्व राष्ट्रिय खेलाडी दिवस राईले एक थान मोबाइल सेटसहित पुरस्कृत गरे ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर १६ ले वार्ड नम्बर ४ लाई २–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । वार्ड १६ का लागि २१औं मिनटमा अभिषेक विश्वकर्मा तथा ६२औं मिनटमा धनेश्वर शर्माले गोल गरे । खेलको म्यान अफ द म्याच भने वार्ड नम्बर १६ कै अभिषेक विश्वकर्मा घोषित भए । उनले पनि पुरस्कार वापत एक थान मोबाइल सेट हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर १५ गते बुधबारको दुई क्वाटरफाइनल खेलतर्फ पहिलो खेलमा वार्ड नम्बर १ र ५ भिड्ने छन् भने दोस्रो खेलमा वार्ड नम्बर ३ र ६ आमने सामने हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २० गतेका दिन हुनेछ ।

Post Comments