News सुनौलो संगम र फर्साटिकरलाई सफलता
सुरज राना मगर

बुटवल । रुपन्देहीमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत सोमबार सुनौलो संगम युवा क्लब र फर्साटिकर युवा क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा सुनौलो संगमले चाँदनी युवा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । सुनौलो संगमको जितमा मनिष थापा र अजित थापाले एक–एक गोल गरे ।

खेलको म्यान अफ द म्याच सुनौलो संगमका उमेश थापा घोषित भए । लगातार दुई खेलबाट दुई अंक जोडेको सुनौलो संगमको ६ अंक समेत भएको छ ।

त्यस्तै पहिलो खेलमा लिस्नु युवा क्लबसँग बराबरीमा रोकिएको दावेदार मध्ये एक फर्साटिकरले बुटवल युनाइटेडलाई ३–० ले हरायो । फर्साटिकरका लागि सुरज थारुले दुई गोल गरे भने समिर श्रेष्ठले थप एक गोल गरे ।

खेलको म्यान अफ द म्याच भने फर्साटिकर कै सन्जु सेन घोषित भए । यो जितपछि फर्साटिकरको पनि २ खेलबाट ४ अंक भएको छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी लिगको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो हुने टोलीले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कारको व्यवस्था गरिएको लिग संयोजक मुकेश कुँवरले बताए ।

आगामी पुष १० गतेसम्म चल्ने लिगका खेलाडी राउण्ड रोबिनका आधारमा भईरहेका छन् । लिगमा कुल ४५ खेलहरु हुने संयोजक कुँवरले जानकारी दिए । लिगमा कुल १० टोलीहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

Post Comments