News वार्ड नम्बर ५ लाई इटहरी रनिङ कपको उपाधि
गोलनेपाल

इटहरी । यहाँ सम्पन्न प्रथम इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ५ ले जितेको छ । फाइनलमा वार्ड नम्बर ३ लाई २–१ ले हराउँदै वार्ड नम्बर ५ च्याम्पियन बनेको हो ।

इटहरी क्षेत्रीय रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनलमा वार्ड नम्बर ५ ले पहिलो हाफ मै गरेको दुई गोल उपाधि जित्न प्रर्याप्त बन्यो । वार्ड नम्बर ५ का लागि खेलको २०औं मिनटमा दिपेन तामाङले पहिलो गोल गरे भने २६औं मिनटमा जोशन राईले दोस्रो गोल गरेका थिए ।

उता पराजित वार्ड नम्बर ३ का लागि ५६औं मिनटमा बिशु श्रेष्ठले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् । फाइनल खेलको म्यान अफ द म्याच वार्ड नम्बर ५ का बिजय राई घोषित भए । त्यसवापत उनले एक थान सेलो फोन हात पारे ।

विजेता बनेको वार्ड नम्बर ५ ले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर ३ ले ३० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई प्रदेश नम्बर १ का ट्राफिक प्रमुख बासुदेव खतिवडा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

जोशन राई सर्वोत्कृष्ट खेलाडी

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वार्ड नम्बर ५ का जोशन राई घोषित भए । त्यसवापत उनले ११ हजार पर्ने एक थान स्मार्ट फोन हात पारे । उत्कृष्ट गोलरक्षक पनि वार्ड नम्बर ५ कै दिपेश चौधरी घोषित भए भने उत्कृष्ट डिफेन्डर वार्ड नम्बर ३ का मनिष मगर घोषित भए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर वार्ड ५ कै सन्जु श्रेष्ठ चुनिंदा उत्कृष्ट फरवार्ड वार्ड नम्बर ३ का बिशु श्रेष्ठ घोषित भए । उत्कृष्ट प्रशिक्षक वार्ड नम्बर ५ का सुजन चौधरी बने । उदीयमान खेलाडी भने वार्ड नम्बर १६ का अभिषेक विश्वकर्मा घोषित भए । सबैले जनही ३–३ हजार र ट्रफी हात पारे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार भने वार्ड नम्बर ३, ५ र २० का क्रमशः बिशु श्रेष्ठ, जोशन राई र सुमन लिम्बुले संयुक्त रुपमा हात पारे । तीनै जनाले जनही १–१ हजार नगद प्राप्त गरे ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा मंसिर ११ गतेदेखि शुरु प्रतियोगितामा इटहरीका कुल १५ वार्डहरुले सहभागिता जनाएका थिए ।

Post Comments