News जुनियर चेलीहरुको ‘मिसन ढाका’
गोलनेपाल

काठमाडौं । तीन बर्ष अघि भुटानमा सम्पन्न साफ यु–१९ महिला च्याम्पियनसिपको पहिलो संस्करण खेल्दा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो ।

फाइनल प्रवेश गर्ने क्रममा नेपालले सेमिफाइनलमा भारतलाई हराउँदै उपाधि नजिक पुगेको थियो । तर फाइनलमा भने नेपाल बंगलादेशसँग १–० ले पराजित हुँदै उपविजेता मै सिमित बन्न पुग्यो ।

संयोग कस्तो भन्दा पहिलो संस्करणमा फाइनल खेलेको प्रतिद्वन्द्वी बंगलादेशससँग खेल्दै नेपालले यहि डिसेम्बर ११ तारीखदेखि हुने प्रतियोगिताको दोस्रो संस्करण शुरु गर्दैछ । अनुभवी गोलरक्षक अन्जना राना मगरको कप्तानीमा रहेको नेपालको लक्ष्य उपाधि नै हो । र त्यसमा कप्तान राना मगर आशावादी पनि छिन् ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ढाका जाने यु–१९ महिला फुटबल टोलीको विदाई गर्दा कप्तान अन्जनाको धारणा त्यहि थियो । उनले देशलाई उपाधि जिताएरै स्वदेश फर्कन चाहेको बताईन् । त्यसका लागि आफूले र टोलीका हरेक सदस्यले कडा मेहनत र प्रयास गर्ने पनि स्पष्ट पारिन् ।

पहिलो खेलमै आयोजक प्रतिद्वन्द्वी

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमै नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग खेल्ने कार्यक्रम छ । त्यसपछि १५ डिसेम्बरका दिन श्रीलंकासँग खेल्नेछ भने त्यसको दुई दिनपछि १७ तारीखका दिन नेपालले भूटानसँग खेल्ने कार्यक्रम छ ।

लिग चरणको अन्तिम खेलमा भने नेपालले ग त संस्करणको सेमिफाइनलिस्ट प्रतिद्वन्द्वी भारतसँग १९ डिसेम्बरका दिन खेल्नेछ । जुन नेपालका लागि फेरि पनि महत्वपूर्ण र प्रतिष्ठाको भिडन्त बन्नेछ ।

ढाका स्थित बिर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा हुने प्रतियोगिताका सबै खेलहरु नेपालका लागि उत्ति नै अहम हुने छन् । दक्षिण एसियाका मात्र ५ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा राउण्ड रोबिन लिग पश्चात शिर्ष दुई स्थानका टोली उपाधिका लागि भिड्ने छन् । फाइनल खेल २२ डिसेम्बरका दिन हुने तय भईसकेको छ ।

 

Post Comments