News थाहा नगरलाई अन्तरपालिका कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले जितेको छ । शनिबार भएको फाईनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई सडन डेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि कब्जा गरेको हो ।

हेटौंडा–४, स्थित हुप्राचौरमा भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि र टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा थाहा विजयी बनेको हो । सडन डेथमा हेटौंडाका खेलाडीले प्रहार गरेको बल बाहिर गएपछि थाहा नगरपालिकाले २–१ उपाधि चुमेको हो ।

त्यसअघि खेलको २७औं मिनेटमा हेटौंडाले अनिश महर्जनको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा बिनोद घलानले गोल गर्दै २–० को अग्रता लिएको हेटौंडाले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन । खेलको ५६औं मिनेटमा थाहाका लागि राजन गोलेले गोल गर्दै थाहालाई खेलामा फर्काए । अन्तिम समयमा हेटौंडाका आाकाश कटुवालाबाट आत्मघाती गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

बिजेता बनेसँगै थाहा नगरपालिकाले उपाधिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्यो भने, हेटौंडाले नगद एक लाख रुपैयाँ प्राप्त गर्यो । यस्तै प्रतियोगितामा हेटौंडाका फत्तेमान घले सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

यस्तै विधागतरुपमा थाहा नगरपालिका राजन गोले उत्कृष्ट परवार्ड, हेटौंडाका गगन सिलवाल उत्कृष्ट डिफेन्डर, थाहाका विशाल स्याङ्तान उत्कृष्ट मिडफिल्डर, हेटौंडाका सफल तिमलसीना उत्कृष्ट गोलकिपर र थाहाका नरेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनिहरुले जनही ३ हजार नगर, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताका बिजेताहरुलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिरमाल, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौंडा–१४ का वडाअध्यक्ष दिपक खड्का, हेटौंडा–१० का वडाअध्यक्ष किताबसिंह लामा, खेलकुद विकास समितिका अध्यक्ष सानुलामालगायतले पुरस्कृत गरेका थिए ।

Post Comments