News राष्ट्रिय हेटौडा भेट्रान्स कपमा आयोजकको विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

 हेटौंडा । आयोजक हेटौंडा भेट्रान्स क्लब (बी) ले सोमबारदेखि शुरु सातौं हेटौंडा भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताका विजयी शुरुवात गरेको छ । आयोजक हेटौंडा भेट्रान्स (बी) र सिमरा भेट्रान्सबीचको निर्धारित समयमा गोल हुन नसकेपछि टाइब्रेकरमा हेटौंडा भेट्रान्स क्लब (बी) विजयी भएको हो ।

हेटौंडाले सिमरा भेट्रान्सलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । खेलको म्यान अफ दी म्याच हेटौंडा भेट्रान्सका सरोज राजथला भए ।

त्यस्तै सोमबार नै प्रतिस्पर्धी अनुपस्थित भएपछि चितवन राष्ट्रिय भेट्रान्सलाई विजयी घोषित गरियो । हाम्रो बीरगञ्ज क्लब सहभागी नभएपछि चितवनलाई विजयी घोषणा गरिएको हो ।

त्यसअघि एक कार्यक्रमका बीच हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले प्रतियोगिता उद्घाटन गरेका थिए । मेयर महतले फुटबल खेलको विकासमा हेटौंडा भेट्रान्स क्लबको उल्लेख्य भूमिका रहेको बताउँदै उपमहानगरपालिकाले खेलका लागि सहयोग गर्ने बताए ।

पुस ३ गतेसम्म चल्ने प्रतियोगितामा १८ भेट्रान्स क्लबले सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० वर्षमाथिका उमेर समूहका पूर्वराष्ट्रिय खेलाडीसहितको टोलीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले बताए ।

हेटौंडा–५, क्याम्पाचौरमा रहेको खेलमैदानमा भएको प्रतियोगितामा मंगलबार पाँच खेल हुने आयोजकले जनाएको छ । मंगलबार पहिलो खेल सानोगौचरण नाइट किङ र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच हुनेछ भने एबीसी पोखरा र कालभैरव क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ ।

त्यसैगरी नागस्वती भेट्रान्स हेटौंडा र बीरगञ्ज युथ क्लबबीच अर्को खेल हुनेछ भने वौद्ध भेट्रान्स काठमाडौं र बानेश्वर फुटबल क्लब काठमाडौंबीच हुनेछ । अभिषेक चर्च नवलपरासी र जोरपाटी काठमाडौंबीच पनि मंगलबार नै खेल हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा शिल्ड र दोस्रो हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड प्राप्त गर्ने हेटौंडा भेट्रान्स उपाध्यक्ष नवराज बज्राचार्यले बताए ।

खेलमा उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक गौतमले बताए ।

Post Comments