News रुपन्देही जिल्ला लिगमा गोर्खा ब्वाईजको लय जारी
सुरज राना मगर

बुटवल । उपाधिको दावेदार मध्ये एक गोर्खा ब्वाईज स्पोर्टस क्लबले यहाँ जारी रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा आफ्नो उत्कृष्ट लयलाई जारी राखेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको पहिलो खेलमा गोर्खा ब्वाईजले साविक विजेता झरना स्पोर्टस क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै महत्वपूर्ण तीन अंक बटुल्यो । गोर्खा ब्वाईजका लागि सुरज घलानले एक मात्र निर्णायक गोल गरे ।

यो नतिजापछि ४ खेलबाट १० अंक जोडेको गोर्खा ब्वाईज लिगतालिकाको शिर्ष स्थानमा छ । उता पराजित झरना भने ३ अंकका साथ नवौं स्थानमा संघर्षरत छ ।

सोमबार नै भएको दोस्रो खेलमा भूपू सैनिक स्पोर्टस क्लबले बलियो सुनौलो संगयम युवा क्लब विरुद्ध १–० को सनसनीपुर्ण जित निकाल्यो । यो नतिजापछि ५ खेलबाट ७ अंक जोडेको भूपू सैनिक पाँचौं स्थानमा उक्लेको छ । पराजित सुनौलो भने १० अंकका साथ दोस्रो स्थानमा छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा जिल्लाका १० टोलीहरु सहभागि छन् । राउण्ड रोबिन लिगका आधारमा आउँदो पुष १० गतेसम्म चल्ने प्रतियोगिताको शिर्ष टोली लिग च्याम्पियन बन्नेछ ।

Post Comments