News फर्साटिकर र बुटवल युनाइटेडको जित
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगितामा उपाधिको दावेदार मध्ये एक फर्साटिकर युवा क्लब र बुटवल युनाइटेडले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा फर्साटिकरले दश खेलाडीमा सिमित बनेको डिएमसीलाई १–० ले हरायो । फर्साटिकरका लागि सुरज थारुले एक मात्र निर्णायक गोल गरे ।

खेलमा डिएमसीका योगराज क्षेत्रीले सोझै रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा सिमित बनेको थियो । तर फर्साटिकरले त्यसको थप फाईदा उठाउन सकेन । खेलमा निर्णायक गोलकर्ता सुरज थारु नै म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै ५ खेलबाट १० अंक जोडेको फर्साटिकर राम्रो गोल भिन्नताका आधारमा शिर्ष स्थानमा उक्लेको छ । पराजित डिएमसी भने ४ अंकका साथ आठौं स्थानमा झरेको छ ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा बुटवल युनाइटेडले सौभाग्य युवा क्लबलाई ३–१ ले हरायो । बुटवल युनाइटेडका लागि रेशम थापा र कप्तान कृष्ण बलालले एक–एक गोल गरे । थप एक गोल भने सौभाग्यका यमु रानाले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

त्यस्तै पराजित सौभाग्यका लागि आयुष क्षेत्रीले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा बुटवल युनाइटेडका कप्तान कृष्ण बलाल म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै ५ खेलबाट १० अंक जोडेको बुटवल युनाइटेड तेस्रो स्थानमा उक्लेको छ । पराजित सौभाग्य भने ५ अंकका साथ लिगतालिकाको सातौं स्थानमा छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ ।

Post Comments