News टाईब्रेकरमा जितसँगै वार्ड नम्बर ३ सेमिफाइनलमा
गोलनेपाल

औराबनी । टाईब्रेकरमा संघर्षपुर्ण जित निकाल्दै वार्ड नम्बर ३ यहाँ जारी तेस्रो अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर ३ ले वार्ड नम्बर २ लाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । त्यसअघि गढी खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा वार्ड नम्बर ३ का गोलरक्षक दिपनारायण चौधरी म्यान अफ द म्याच घोषित भए । उनले विपक्षीका दुई प्रहार रोक्दै टोलीलाई जिताउन अहम भूमिका खेलेका थिए । म्यान अफ द म्याच घोषित चौधरीलाई प्रमुख अतिथी दिल बहादुर खड्काले नगद १ हजारसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत मंसिर २९ गते बुधबारको पहिलो सेमिफाइनल खेल वार्ड नम्बर १ (क) र वार्ड नम्बर ६ बीच हुने आयोजकले जनाएको छ ।

गढी गाउँपालिका, औराबनी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७१ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल पौष ३ गतेका दिन हुनेछ ।

Post Comments