News वीपी कपः उपाधिका लागी २ र ३ नम्बर वडा भिडने
गोलनेपाल

हेटौंडा । हेटौंडामा जारी वीपी कप फुटबल प्रतियोगितातर्फ उपाधिका लागि उपमहानगरपालिकाको दुईवटा वडा भिड्ने भएका छन् । मकवानपुरका १० स्थानीय तह र उपमहानगरपालिकाको वडाहरु सहभागी खेलको उपाधिको लागि हेटौंडाको २ र ३ नम्बर वडा भिड्ने भएका हुन् ।

मंगलबार भएको सेमीफाइनल खेलमा २ नम्बर वडाले मकवानपुरगढी गाउँपालिकालाई र ३ नम्बर वडाले १९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमीफाइनलमा २ नम्बरले मकवानपुरगढी गाउँपालिकालाई टाइब्रेकरमा हरायो ।

निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा २ नम्बर वडाका अनिल थापा, लक्ष्मण बिडारी र गणेश राईले गोल गर्दा मकवानपुरगढीको तर्फबाट सुमन बोम्जन र दीपेन्द्र लामाको प्रहार मात्रै गोलमा परिणत भयो । सरोज घलानको प्रहार २ नम्बरका गोलरक्षक सफल तिमल्सिनाले रोकेका थिए । निर्धारि समयमा पनि उत्कृष्ट खेल प्रस्तुत गरेका सफल नै खेलको म्यान अफ दी म्याच चुनिए ।

त्यस्तै दोस्रो सेमीफाइनलमा ३ ले १९ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । ३ नम्बर वडाको लागि दुवै गोल बादल थिङले गरेका हुन् । उनी नै खेलको म्यान अफ दी म्याच भए ।

मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघले प्रतियोगिता आयोजना गरिरहेको छ । फाइनल खेल बुधबार दिउँसो हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद ५० र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments