News बाँसगढीलाई हराउँदै फर्साटिकर सेमिफाइनलमा
सुरज राना मगर

मैनिया । प्रतियोगिताको दावेदार मध्ये एक फर्साटिकर युवा क्लब यहाँ जारी प्रथम गैंडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गैंडहवा–८ देवीनगर स्थित स्थानीय खेलमैदानमा मंगलबार भएको अन्तिम तथा चौथो क्वाटरफाइनलमा बाँसगढी युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै फर्साटिकर अन्तिम चारमा प्रवेश गरेको हा ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । नियमित समयतर्फ बाँसगढीका लागि बिजय घलेले गोल गरेका थिए भने फर्साटिकरका लागि निशान सुनारले गोल गरेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका फर्साटिकरका गोलरक्षक शुभांकर जिसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पौष १४ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक न्यु एभरेष्ट युवा क्लब, मैनिया र कपिलवस्तु–११ बीच हुने संयोजक प्रकाश हमालले जानकारी दिए ।

न्यु एभरेष्ट युवा क्लबको आयोजना तथा गैंडहवा गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यहि पौष १७ गतेका दिन हुनेछ ।

 

 

Post Comments