News अल्मुतारी फर्किए लगतै नेपालले खेल्ने दुई मैत्रीपूर्ण खेलको पनि टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारी मंगलबार नेपाल आइपुगे कै दिन नेपाली टोलीले खेल्ने दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचको पनि टुंगो लागेको छ ।

नेपालको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टी गरेको छ । नेपालले पूर्व अफ्रिकी महादेशको टापु राष्ट्र मौरिसससँग बर्ष २०२२ को पहिलो इन्टरनेशनल ब्रेकका रुपमा २९ जनवरीका दिन र १ फेब्रुअरीका दिन दुई मैत्रीपूर्ण म्याच खेल्ने पक्का भएको हो ।

एन्फाका अनुसार दुवै खेल दशरथ रंगशालामा हुनेछन् । मौरिसस हाल फिफा वरियताको १७२औं स्थानमा छ । उता नेपाल भने हाल फिफा वरियताको १६९औं स्थानमा छ ।

मौरिसससँग दशरथ रंगशालामा हुने ती दुई खेल यसै बर्षको सेप्टेम्बरमा भारत विरुद्ध भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचपछिको पहिलो अन्तर्राष्ट्रिय भिडन्त समेत हुनेछ । त्यतिबेला पनि नेपालले भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेलेको थियो । जसमध्ये एकमा बराबरी र अर्कोमा हार बेहोरेको थियो ।

त्यसपछि नेपालले यसै बर्ष माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिप पनि खेलेको थियो । प्रतियोगिताको ऐतिहासिक फाइनलमा पुगेको नेपालले फेरि पनि भारतलाई नतिजा सुम्पिदै उपविजेता मै चित्त बुझाउन बाध्य भएको थियो ।

Post Comments