News टि–बर्गरलाई भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि
उमेश पुन

पोखरा । यहाँ सम्पन्न पाँचौं स्व. रञ्जित गुरुङ स्मृति बगर भाई खलक एट ए साईड फुटबल प्रतियोगिताको उपाधि ललितपुरको टि–बर्गर भेट्रान्सले जितेको छ । फाइनलमा एबिसी भेट्रान्स, पोखरालाई ३–० गोलले पराजित गर्दै टि–बर्गर च्याम्पियन बनेको हो ।

पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको आयोजनामा शनिवार सम्पन्न प्रतियोगिताको’ फाइनलमा टि–बर्गरलाई उपाधि जिताउन भुपेन लिम्वुले दुई र रमेश गुरुङले एक गोलको योगदान दिए ।

फाइनल खेलको म्यान अफ द म्याच टि–बर्गरका भूपेन लिम्वु घोषित भए । विजेता बनेको टि–बर्गरले उपाधिसँगै नगद १ लाख ५१ हजार १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

टि–बर्गरका भुपेन लिम्वु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए । उनले नगद १० हजार सहित ट्रफी हात पारे । उत्कृष्ट मिडफिल्डरको पुरस्कार पनि लिम्बु कै पोल्टामा गर्यो । त्यस्तै उत्कृष्ट गोलरक्षकमा टि–बर्गरका मिन बहादुर बस्नेत, उत्कृष्ट डिफेण्डरमा एविसीका विष्णुलाल श्रेष्ठ र उत्कृष्ट फरवार्डमा टि–बर्गरका नगेन लिम्वु चुनिए ।

एपाधि विजेता टिम तथा खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक स्व.रञ्जित गुरुङका छोरी ज्वाईं मेजर खुसिमान गुरुङ ‘एमभिओ’ र छोरी मञ्जु गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, बगर भाई खलक यूकेका अध्यक्ष दिलरास गुरुङ, तमु धि यूकेका अध्यक्ष हितकाजी गुरुङ, सहारा युकेका अध्यक्ष रि.ले कुशाङ गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ, बगर भाई खलकका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ ‘सिएम’, वगर भाई खलकद्वारा सम्मानित व्यक्तित्व महेश गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयाँ पिढीलाई खेलकूदप्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।

Post Comments