News आहा! रारा गोल्डकपः सेमिफाइनल समिकरण पूरा
उमेश पुन

पोखरा । यहाँ जारी प्रतिष्ठित २०औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार भएको त्रिभुवन आर्मी फुटबल क्लब र रुस्लान थ्रीस्टार क्लबबीचको अन्तिम क्वाटरफाइनल खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा आर्मीले थ्रीस्टारलाई शून्यका विरुद्ध १ गोलले हरायो र सेमिफाइनलमा प्रवेश गर्यो । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका राजिव गुरुङले गरेको सटिक फिनिसिङ गोल नै आर्मीलाई सेमिफाइनलमा पुर्याउन निर्णायक बन्यो ।

निर्णायक गोलकर्ता राजिव गुरुङ नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ८ हजार र ट्रफी हात पारे । अब दोस्रो सेमिफाइनलतर्फ आर्मीले माघ १३ गतेका दिन मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत माघ १२ गतेको पहिलो सेमिफाइनल खेल नेपाल एपिएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि माघ १५ गतेका दिन हुनेछ ।

सेमिफाइनलदेखि दर्शकको उपस्थिति रहने

त्यस्तै प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकहरुलाई रंगशालामा प्रवेश दिइने आयोजकले जनाएको छ । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाएर सिमित संख्यामा दर्शकहरुलाई रंगशालामा प्रवेश दिइने आयोजक सहारा क्लबले जानकारी दियो ।

दर्शकहरुलाई टिकट दर तीन सय तोकिएको छ । साथै इच्छुक दर्शकहरुले प्रभु पेमार्पmत अनलाईनमा पनि म्याच टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

Post Comments