News ‘मौरिसस विरुद्ध खेल्न नेपाल तयार र फिट’
गोलनेपाल

काठमाडौं । नेपालले मौरिसससँग खेल्ने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच अघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा प्रशिक्षकले आफूहरु सो खेलका लागि तयार रहेको बताएका छन् ।

माल्दिभ्समा व्यवसायीक फुटबल खेलिरहेका नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले आफू राष्ट्रिय टोलीका लागि केही दिन अघि मात्र स्वदेश फर्किएको बताउँदै मौरिसस विरुद्ध खेल्ने आफूसँगै अन्य खेलाडीहरु पनि तयार रहेको बताए ।

कप्तान चेम्जोङले टोलीमा परेका खेलाडीहरु हाल जारी ए डिभिजन लिग खेलेरै राष्ट्रिय टोलीमा परेको स्मरण गराउँदै मौरिसस विरुद्धको खेलका लागि टोलीमा रहेका सबै खेलाडी फिट रहेको बताए । साथै उनले टोलीमा परेका केही नयाँ खेलाडीहरुले मौरिसस विरुद्धको खेलबाट नयाँ अनुभव र हौसला पाउने पनि जिकिर गरे ।

त्यस्तै मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले उपस्थिति नजनाएको पत्रकार सम्मेलनमा उनको स्थान सहायक प्रशिक्षक किरन श्रेष्ठले लिएका थिए । पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक श्रेष्ठले मौरिसस विरुद्ध खेल्ने दुवै खेलका लागि नेपाली टोली तयार रहेको बताए । साथै उनले अफ्रिकी देश विरुद्धको यो दुई खेल नेपालले खेल्ने एसियन कप छनौटका लागि राम्रो तयारी खेलका रुपमा रहने समेत बताए ।

स्मरणीय छ, नेपाल र मौरिसस विरुद्ध पहिलो मैत्रीपूर्ण खेल यहि माघ १५ गते शनिबारका दिन हुँदैछ भने दोस्रो खेल माघ १८ गतेका दिन हुँदैछ । दुवै खेल दशरथ रंगशालामा बेलुका ४ः४५ बजेदेखि शुरु हुनेछ ।

साथै रंगशालामा एक तिहाई दर्शकहरुलाई मात्र प्रवेश दिईने एन्फाले जनाएको छ । दर्शकहरुका लागि टिकट मुल्य सामान्यतर्फ ५ सय र भिआईपीतर्फ १ हजार तोकिएको छ ।

Post Comments