News नेपाल र मौरिससमा कसले मार्ला बाजी ?
केशर बहादुर दाहाल
फिफा वरियतामा १६९ औं स्थानमा रहेको नेपालले यही माघ १५ गते शनिबार आफ्नै घरेलु मैदानमा १७२ औं स्थानमा रहेको मौरिससको सामना गर्दैछ । भारत विरुद्ध नेपालले मैत्रीपूर्ण खेल खेलेपश्चात दशरथ रंगशालामा हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
 
नेपालका प्रशिक्षक अब्दुल्लाहले दुई खेलका लागि दुई छुट्टा छुट्टै स्क्वाड घोषणा गरेका छन् । अब्दुल्लाहले पहिलो खेलका लागि तिकेन्द्र थापा, सुदिप गुरुङ, कृतिश रत्न छुन्जु, आकाश बुढा मगर जस्ता नयाँ अनुहारलाई मौका दिएका छन् भने विमल घर्ती मगर, देवेन्द्र तामाङ तथा जगजीत श्रेष्ठ जस्ता पुराना खेलाडीहरु स्क्वाडमा पुनः फर्केका छन् । 
 
प्रशिक्षक अब्दुल्लाहले प्रायः युवा खेलाडीलाई मौका दिने कुरालाई यसपटक पनि निरन्तरता दिएको देख्न सकिन्छ । घोषित स्क्वाडमा धेरै जसो युवा खेलाडीको बाहुलत्या रहेको छ भने केही पुराना अनुभवी खेलाडीलाई पनि समावेश गरिएको छ । 
 
प्रशिक्षक अब्दुल्लाहले आफ्नो आक्रामक खेल खेलाउने रणनीतिलाई यसपटक पनि निरन्तरता दिनेछन् भन्ने अपेक्षा गरिएको छ । उनको आगमन पश्चात गोलको खडेरी नै लाग्ने नेपालको परम्परा तोडिएको छ भने खेलाडीको आत्मविश्वास समेत बढेको छ ।
 
फाइदाकै कुरा गर्दा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको साथ हुनेछ । यस्तै, घरेलु लिग चालु रहिरहेकै कारण राष्ट्रिय टिमका प्रायः खेलाडीलाई गेम टाइमको पनि कमी रहेको छैन । तर त्यसो भन्दैमा शारीरिक रूपमा सशक्त रहेको मौरिसस विरुद्ध जित्नका लागि त्यसै अनुरूप योजना बनाई खेल्न भने आवश्यक रहनेछ ।
 
मौरिसस टिम कै कुरा गर्ने हो भने काठमाडौं आउनु भन्दा केही दिन अगाडि मात्रै खेलाडी केविन पेर्तीकोतस् कोरोनाबाट संक्रमित हुन पुगे । यसले गर्दा मौरिसस टिमलाई पक्कै पनि केही अभाव महसुस हुनेनै छ ।

मौरिसस टिममा पनि युवा र अनुभवी खेलाडीको मिश्रण रहेको छ । प्राविधिक कारणले गर्दा आफ्नो मुख्य प्रशिक्षक बिना नै आएको मौरिशियन टोली वरियतामा कमजोर देखिएता पनि खेलको जुन सुकै समयमा खेललाई उल्टाउन सक्ने खुबी भएको टोली हो । शारीरिक रूपमा नेपाल भन्दा अब्बल रहेको मौरिसियन टोली पनि आक्रामक खेल खेल्न रुचाउने टोली हो । त्यसैले यो टोलीले नेपाललाई खेलको जुनसुकै समयमा चोट पुर्याउन सक्नेछ ।
 
पछिल्ला खेलहरु हेर्दा नेपाल मौरिसस भन्दा बलियो देखिन्छ । नेपालले आफ्ना पाँच खेलहरू मध्ये दुई खेलमा जित निकालेको छ, दुई खेलमा हार बेहोरेको छ भने एक खेल बराबरीमा टुंगिएको छ जसमा ७ गोल नेपालले खाएको छ भने ५ गोल लाउन सफल रहेको छ । यस्तै, मौरिससको कुरा गर्ने हो भने उसले आफ्ना पाँच खेलहरू मध्ये चार खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी खेलेको छ । यी खेलहरुका दौरान मौरिससले १३ गोल खाएको छ भने ५ गोल लाउन सफल भएको छ । 
 
मौरिससको तुलनामा नेपालले पछिल्ला खेलहरूमा कम गोल खाएको छ । रक्षापंक्ति बलियो देखिएको छ । तर अग्रपंक्तिमा भने दुवै टोलीले ५-५ गोल लाउन सफल रहेका छन् । यसबाट प्रष्ट हुन्छ कि मौरिससको रक्षापंक्तिमा केही समस्या देखिएता पनि उसले अट्याकिङ खेल पस्किने गरेको छ । त्यसैले, नेपालका डिफेन्डरलाई पनि मौरिससको गोल स्कोरीङ फर्मलाई रोक्नु एउटा चुनौती नै हुनेछ ।
 
फुटबलमा वरियतामा क्रम र पछिल्ला फर्मले महत्त्व राख्ने भएता पनि जित्ने हार्ने कुराको मापन त्यसैका आधारमा मात्र गर्न सकिन्न । खेलका दौरान जुन टोलीले उत्कृष्ट खेल पस्कन सक्छ, जुन टोलीले खेललाई बुझेर खेललाई आफ्नो वसमा राख्न सक्छ, जुन टोली जितको भोको हुनेछ र कुनै पनि अवसरको सदुपयोग गर्न सक्दछ जित उसकै हुनेछ । त्यसैले , नेपालले पनि आफू मौरिसस भन्दा बलियो छु भनेर अति विश्वस्त अनि ढुक्क भएर नखेली आफ्नो उत्कृष्ट खेल देखाउने अपेक्षा गरिएको छ भने मौरिससले पनि आफू कमजोर छु भन्ने नसोची जितकै लागि खेल्ने विश्वास गरिएको छ । 
Post Comments