News नेपालको ‘क्लीन स्वीप’
गोलनेपाल

काठमाडौं । अफ्रिकी मुलुक मौरिसस विरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा शतप्रतिशत जित निकाल्दै नेपालले ‘क्लीन स्वीप’ गरेको छ । स्मरण रहोस, अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा नेपालले हात पारेको यो ११ वर्षपछिको लगातार दोस्रो जित थियो ।

माघ १५ गतेका दिन भएको पहिलो मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको नेपालले मंगलबार सोही नतिजालाई दोहोर्यायो । मंगलबार भएको खेलमा नेपालका लागि पहिलो हाफको दशौं मिनटमा सुजल श्रेष्ठले गरेको एक मात्र गोल निर्णायक बन्यो । राष्ट्रिय टोलीका लागि सुजलको यो ६ बर्षपछि पहिलो अन्तर्राष्ट्रिय गोल समेत थियो ।

खेलमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङ पनि नायक रहे । उनले पहिलो हाफ मै मौरिससको पेनाल्टी प्रहार रोक्दै घरेलु टोलीलाई जित दिलाउन अहम भूमिका खेलेका थिए । खेलमा कप्तान किरन प्लेयर अफ द म्याच समेत चुनिएका थिए । 

खेलको दोस्रो हाफ तनावपुर्ण पनि बनेको थियो । खेलमा मौरिससका दुई खेलाडीले रातो कार्ड खाँदा नेपालका एक खेलाडी र अफिसियलले रातो कार्डको सामना गर्नु परेको थियो । नेपालका लागि पुजन उपरकोटी र गोलकिपिङ प्रशिक्षक बिकास मल्लले रातो कार्ड पाएका थिए ।

समग्रमा नेपालको इन्टरनेशनल फ्रेण्डली सुखद रह्यो । आगामी एएफसी एसियन कपको तेस्रो चरणको छनौट खेल्ने तयारीमा समेत रहेको नेपालका लागि यो दुई जित हौसलापूर्ण हुने निश्चित छ ।

Post Comments