News दक्षिण कोरिया विश्वकपका लागि छनौट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली फुटबलमा आफूलाई महाशक्तिका रुपमा उभ्याईरहेको दक्षिण कोरिया पनि यसै बर्ष कतारमा हुने प्रतिष्ठित फिफा विश्वकपका लागि छनौट भएको छ ।

एसियाली छनौटको तेस्रो चरणतर्फ समूह ए मा रहेको दक्षिण कोरियाले मंगलबार आफ्नो आठौं खेलमा छैठौं जित निकाल्दा सिरियामाथि २–० को नतिजा आत्मसात गर्यो । र दुई खेल खेल्न बाँकी छँदै विश्वकपको टिकट काट्न सफल भयो ।

दुबई स्थित रशिद स्टेडियममा भएको खेलमा दक्षिण कोरियाले दुवै गोल दोस्रो हाफमा गर्यो । ५३औं मिनटमा किम जिन सुले पहिलो गोल गरे भने ७१औं मिनटमा क्वान चाङ हुनले दोस्रो गोल गरेका थिए ।

स्मरण रहोस, सन् १९८६ को विश्वकप यता दक्षिण कोरियाले प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आइरहेको छ । यद्यपि कतार विश्वकप दक्षिण कोरियाको समग्रमा ११औं फिफा विश्वकप हुनेछ ।

समूह ए बाट इरान र दक्षिण कोरियाले सोझै विश्वकपमा स्थान बनाएका छन् । ८ खेलबाट २० अंक जोडेको दक्षिण कोरिया समूह ए को शिर्ष स्थानमा छ । एक खेल कम खेलेको इरान १९ अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै ९ अंक जोडेको युएई तेस्रो स्थानमा रहँदा ६ अंकका साथ लेबनान चौथो स्थानमा छ । ५ अंक जोडेको इराक पाँचौं स्थानमा रहँदा २ अंकका साथ पुछारमा रहेको सिरिया प्रतियोगिताबाट बाहिरिएको छ ।

Post Comments