News एन्फाको १६औं कार्यसमिति बैठक सम्पन्न
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १६औं कार्यसमिति बैठक बिहीबार सम्पन्न भएको छ । एन्फा कम्प्लेक्समा बसेको बैठकले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा एन्फाको निर्वाचन समिति गठन समेत गरेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समितिको सह–संयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा अधिवक्ताद्वय सरस्वती श्रेष्ठ र प्रिती कार्कीलाई मनोनयन गरेको छ । यद्यपि मनोनयनमा परेका सदस्यहरुलाई एन्फाको आउँदो २०औं विशेष साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

त्यस्तै बैठकले निर्वाचन पुनरावेदन समिति गठन गर्ने निर्णय समेत गर्यो । जसको संयोजकमा अधिवक्ता बिष्णु लुईटेल रहेका छन् भने सह–संयोजकमा अधिवक्ता सुधा रिजाल, सदस्यमा अधिवक्ता केशव मणी अर्याल तथा वैकल्पिक सदस्यमा अधिवक्ता यज्ञ बहादुर राना र राजेन्द्र इङ्गनाम रहेका छन् ।

यस समितिको मनोनयन र अन्तिम निर्णय पनि विभिन्न प्रक्रियाहरु पूरा गरेपछि एन्फाको विशेष साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । स्मरण रहोस, एन्फाको केन्द्रिय निर्वाचन आउँदो जेठ १५ गते गर्ने निर्णय भईसकेको छ । त्यसअघि एन्फा मातहत रहेका जिल्ला फुटबल संघहरुको निर्वाचन सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

 

Post Comments