News संयोगले जुरेको विशालको प्रेमले पूर्ण रुप लिंदै
रमेश समदर्शी

झापा । एउटा संयोगले जुरेको भेट । त्यति अपेक्षित नहुन सक्छ । सबै भेट फलदायी र उपलब्धिमुलक बन्नुपर्छ भन्ने पनि होइन । तर, संयोगले जुरेको भेट नै जीवनका लागि महत्वपूर्ण क्षण बन्छ, सायदै ।

यस्तै, एउटा भेटले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विशाल राईको जीवनमा खुसी ल्याएको छ । त्यो भेट उनी सम्झन चाहँदैनन्, बरु हाँसेर टारिदिन्छन् । ‘तीन चार वर्षअघि भेट भएको होला’, हाँसो मिश्रित जवाफ दिन्छन् विशाल ।

लजालु स्वभावका विशालको भेट इलामकी रविना गुरुङसँग भएको थियो, उनकै शब्दमा संयोगले । पढ्न गएकी रविनासँग काठमाडौँमा भेट भएको चाहिँ खुलासा गरे विशालले । कसैको माध्यम रहेन रविनासँगको भेट । उनी भन्छन्, ‘आफैँले गर्दा भेट भएको हो ।’ सायद उनी यसैलाई संयोग ठान्छन् ।

कुनै कार्यक्रम वा फुटबल खेलका क्रममा भएको भेट ? भन्दा उनी होइन नै भन्छन् । भेटमा के अपेक्षा थियो, यी तरुणमा । उनीहरु नै जानून् । अहिले एक अर्काका पर्याय बनेका छन्, अझ भनौँ उनीहरु आफैँमा आवश्यकता हुन् अनि पूरक पनि । अर्थात्, राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल र सन्दकपुर ४ मावु निवासी रविना आज फागुन ६ गते शुक्रबारदेखि दाम्पत्य जीवनमा बाँधिदैछन् । ‘लव कि एरेन्ज ?’, विशाल भन्छन्, ‘दुवै हो ।’ चार वर्षअघिको भेटबाट बिस्तारै प्रेमिल बन्न पुगेका यो जोडीको कहानी बताउन चाहँदैनन्, विशाल । बरु, उनले हाँसेरै टारिदिन्छन् ।

तर, कोरोना कहरका बेला भएको पहिलो लकडाउनबाट चाहिँ बिहे गर्ने निधो पक्का भएको रहेछ । संयोगले जुराएको भेट झाँगिदै गएपछि अन्ततः बिहेसम्म पुगेको उनी स्वीकार्छन् । जारी ए डिभिजन लिगमा विशाल आवद्ध मच्छिन्द्र एफसीले बुधबार ऐतिहासिक जित निकालेर खुसी बाँढिरहँदा उनको जीवनमा थप खुसीका रेखाहरु कोरिँदै थिए । मछिन्द्रले दुई खेल खेल्नु अगावै दोस्रो पटक लिग च्याम्पियन बन्दा उनी सहभागी थिएनन् ।

तर, दशरथ रंगशालामा साथीहरु विजयोत्सव मनाइरहँदा विशाल त्यसको खुसीसँगै नवदुलहीलाई इलामबाट झापा ल्याउँदै थिए । दोहोरो खुसीमा रहेका विशाल अहिले आफ्नो घरमा हुने बिहेमा व्यस्त छन् । फागुन ४ गते (बुधबार) विशालको तर्फबाट रविनाको घरमा गएर मागेर ल्याइएको छ । आज शुक्रबार विशालको तर्फबाट बिहेको तयारी छ ।

झापा अर्जुनधारा निवासी विशाल एन्फाका उत्पादन हुन् । सन् २०१५ मा राष्ट्रिय टोलीमा परेयता उनले पछाडि फर्किएर हेर्नु परेको छैन । हुन पनि २०१५ देखि २०२२ सम्मको यात्रामा उनी राष्ट्रिय टोलीको मिडफिल्ड सम्हालिरहेका छन् । ३४ क्याप खेलेका विशालले ४ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

एउटा गोल त ऐतिहासिक गोल नै रहेको छ । लाओसविरुद्ध गरेको गोल एक दशकभन्दा पछिको गोल हो । २०१५ मा भारतको पुनेबाट डेब्यू गरेका विशालले माल्दिभ्स, फिलिपिन्स र बंगलादेशविरुद्ध गोल गरिसकेका छन् ।

बुवा जागिरमान र आमा सावित्राका २९ वर्षे छोरा विशाल एक्ला हुन् भने बहिनीको विवाह भइसकेको छ । तत्काल कुनै योजना छैन, राई जातिले मान्ने चुला यहाँ नभएर पहाड घर खोटाङमा गएर बुहारीलाई देखाउनेमात्र अहिलेको योजना रहेको उनले सुनाए । हनिमुन नि ? उनी फेरि हाँसेर टार्न खोज्छन् । ‘यस्तो केही योजना छैन’, उनको संक्षिप्त जवाफ फेरि दोहोरिन्छ, ‘अहिलेलाई घरमै ।’

खेल मैदानमा अनेक ट्याकललाई बिट गर्दै उत्कृष्ट बल डिस्ट्रब्युट गर्ने विशालले आफ्नो पारिवारिक जीवनमा पनि खुसीका क्षण बाँड्न सकून्, अभ्यन्तरिक शुभकामना ।

Post Comments