झापा । झापाको पराबारीमा जारी प्रथम पराबारी नकआउट फुटबल प्रतियोगिता २०८३ को उपाधि पराबारी एफसीले जित्न सफल भएको छ। आज सम्पन्न फाइनल खेलमा पराबारी एफसीले एआरडी बेलबारीलाई ५–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
रोमाञ्चक बनेको फाइनल खेलमा सुरुवाती अग्रता पराबारी एफसीले लिएको थियो। पराबारीका खेलाडी जोन मुर्मुले बादलको सुन्दर फ्रिकिकमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलमा सुपर सबका रूपमा मैदान प्रवेश गरेका एआरडी बेलबारीका अनिल लिम्बूले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पराबारी एफसीले आक्रामक खेल प्रदर्शन गर्दै गोलको वर्षा गर्यो। उत्कृष्ट लयमा देखिएको पराबारीले थप चार गोल गर्दै फाइनल खेल ५–१ ले आफ्नो पक्षमा पार्न सफल भयो। यससँगै एआरडी बेलबारी उपविजेतामा सीमित बन्यो।
प्रतियोगिताको विजेता पराबारी एफसीले नगद रु. ४० हजार १११ प्राप्त गर्दा उपविजेता एआरडी बेलबारीले रु. २५ हजार १११ प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गरेका पराबारी एफसीका जोन मुर्मु प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। त्यस्तै, पराबारी एफसीकै पासाङ तामाङ सर्वाधिक गोलकर्ता बने भने गोलरक्षक सुमन मिस्त्रीले बेस्ट गोलकिपर को उपाधि प्राप्त गरे।