News उत्कृष्ट जितका साथ भेनस सेमिफाइनलमा
रमेश समदर्शी

इलाम । उत्कृष्ट जितका साथ भेनस एफसी, फिक्कल जारी प्रथम देउमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भानुभक्त माविको छात्रावास खेल मैदानमा आइतबार भएको क्वाटरफाइनल भिडन्ततर्फ भेनसले गुनमुने स्पोर्टिङ क्लबलाई ३–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । भेनसका लागि तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुवै टोलीले पाएको अवसर खेर फालेपछि गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको १०औँ मिनेटमा भेनसका शेखर राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सात मिनट लगतै राईले नै व्यक्तिगत दोस्रो गोल गरे । यसअघि १५औँ मिनेटमा सुसन कार्कीले थप एक गोल गरेका थिए ।

खेलमा भेनसका शेखर राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबार आयोजक युनाइटेड युथ क्लब मंगलबारे र होलिबोथ एफसी इलामबीच खेल हुने आयोजकले जनाएको छ ।

कुल ८ टिमहरु सहभागी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख पाउनेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । फाइनल खेल यहि फागुन १४ गतेका दिन हुनेछ ।

Post Comments