News कञ्चन गोल्डकप शुरु, एन्फा एकेडेमीको विजयी शुरुवात
सुरज राना मगर

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा कञ्चन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । कञ्चन गाउँपालिका–४ डियो बजार स्थित स्थानीय खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्फा एकेडेमी, बुटवलले विजयी शुरुवात गर्यो ।

विजयी शुरुवात गर्ने क्रममा एन्फा एकेडेमीले आयोजक कञ्चन–११ लाई टाईब्रेकरमा ३–० ले हरायो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा एन्फा एकेडेमीका गोलरक्षक निशान राना म्यान अफ द म्याच घोषित भए ।

यो जितसँगै एन्फा एकेडेमी प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत फागुन १४ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब र सैनामैना खेल समिति, रुपन्देहीबीच हुने प्रचार प्रसार संयोजक टिका थापाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच कञ्चन गाउँपालिका वार्ड नम्बर ४ का अध्यक्ष दुर्गा सिंह क्षेत्री तथा आयोजक हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, डियो बजारका अध्यक्ष प्रकाश थापाले संयुक्त रुपमा गरेका थिए ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष प्रकाश थापाले बताए । नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीको सह–आयोजनामा भईरहेको प्रतियोगिताको फाइनल खेल भने फागुन २१ गतेका दिन हुनेछ ।

Post Comments