News संघर्षपुर्ण जितका साथ वार्ड नम्बर २ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जित निकाल्दै वार्ड नम्बर २ यहाँ जारी चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा वार्ड नम्बर २ ले वार्ड नम्बर १२ लाई सडन डेथमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि श्री सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको तेस्रो मिनटमै महानन्द राजवंशीको गोलबाट वार्ड नम्बर २ ले अग्रता बनाए तापनि त्यो अग्रता दोस्रो हाफमा गुमाउन पुगेको थियो ।

उता ७४औं मिनटमा हर्सित चौधरीले वार्ड नम्बर १२ का लागि गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । यद्यपि वार्ड नम्बर १२ टाईब्रेकरमा निराश बन्न पुग्यो । खेलको म्यान अफ द म्याच वार्ड नम्बर १२ का विनर टोप्पो चुनिए । उनलाई प्रमुख अतिथी खुशीलाल चौधरीले नगद २ हजार र मेडलसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत फागुन १४ गते शनिबारको खेल वार्ड नम्बर ५ र ९ बीच हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लबको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,०११११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments