News अपराजित 'च्याम्पियन' मच्छिन्द्रको सुखद समापन
गोलनेपाल

काठमाडौं । लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको मच्छिन्द्र फुटबल क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा शनिबार अपराजित रहेर सुखद समापन गरेको छ ।

दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा मच्छिन्द्रले एपिएफ फुटबल क्लबमाथि २–१ को जित निकाल्यो र लिगमा सुखद समापन गर्न सफल भयो । खेलमा शुरुवाती अग्रता पनि मच्छिन्द्रले लिएको थियो । खेलको ४२औं मिनटमा अभिषेक गुरुङले लिग च्याम्पियनका लागि गोल गरेका थिए ।

यद्यपि दोस्रो हाफको ६७औं मिनटमा प्रदिप लामाले एपिएफका लागि बराबरी गोल फर्काउन सफल भए । खेल बराबरीतर्फ नै लम्किरहेका बेला मच्छिन्द्रले दोस्रो गोल थप्न सफल भयो । ८२औं मिनटमा रेजिन सुब्बाले बललाई पोष्टको जाली चुमाउँदै टोलीको जित पक्का गरे ।

शनिबारको नतिजापछि १३ खेलबाट १० जित र ३ बराबरी खेलेको मच्छिन्द्रले अपराजित रहेर ३३ अंकका साथ शिर्ष स्थान मै आफुलाई कायम राख्न सफल भयो । र उपाधि माथि पनि कब्जा जमायो । उता पराजित एपिएफ १५ अंकका साथ आठौं स्थानमा रहेर चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै शनिबार नै मनाङ मस्र्याङ्दी क्लबसँग १–१ को बराबरी खेलेको आर्मी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा २१ अंकका साथ मनाङ पाँचौ स्थानमा रह्यो । समान अंक जोडेको सातदोबाटो युथ क्लब मनाङ भन्दा एक स्थान माथि चौथो स्थानमा रहन सफल भयो ।

त्यसैगरी शनिबार नै भएको अर्को खेलमा न्युरोडटिम (एनआरटी) ले नेपाल पुलिस क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । यो जितपछि २३ अंक जोडेको एनआरटीले तेस्रो स्थानमा रहेर लिगको समापन गर्न सफल भयो भने पराजित पुलिस १२ अंकका साथ ११औं स्थानमा रह्यो ।

लिगतालिकामो पुछारमा रहेका दुई टोली ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब क्रमशः ८ र ६ अंकका साथ यस सिजन बी डिभिजनमा रेलिगेशनमा पर्न बाध्य बने ।

 

Post Comments