News पोखरामा एन्फा रेफ्री कोर्ष शुरु
गोलनेपाल

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल खेलमा रेफ्रीको भुमिकालाई मध्यनजर राख्दै पौष १९ गते शनिबारदेखि कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय एन्फा रेफ्रीङ कोर्ष शुरु गरेको छ ।

यहि पौष २५ गतेसम्म सन्चालन हुने कोर्षमा गण्डकी प्रदेशमा अवस्थित संघमा आवद्ध कास्की, स्याङ्जा, बाग्लुङ, नवलपुर, तनहु, गोरखा, मनाङ र लमजुङका ४१ जना प्रशिक्षार्थीहरु सहभागि छन् ।

प्रशिक्षणका क्रममा सहभागी प्रशिक्षार्थीलाई फिफाको ‘लज अफ द गेम’को ज्ञान दिईने छ भने फिटनेश सम्बन्धि प्रशिक्षण गराईने समेत बताइएको छ । उक्त दुवै परिक्षामा उत्तिर्ण हुनेलाई एन्फा रेफ्री व्याच प्रदान गरिने छ ।

कोर्षको प्राविधिक ज्ञान सम्बन्धि प्रशिक्षण पूर्व फिफा रेफ्री सुरेन्द्र सिख्राकार तथा फिफा रेफ्री सुदिस कुमार पाण्डेले दिनेछन् भने फिटनेश सम्बन्धि प्रशिक्षण पूर्व फिफा सहायक रेफ्री किरण गिरीले दिने छन् ।

त्यसअघि कोर्षको उदघाटन शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश खेलकुद पत्रकार मन्चका अध्यक्ष एकराज गिरीले गरेका थिए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको सभापतित्व एवम् महासचिव रमेश कार्कीले सन्चालनमा भएको कार्यक्रममा गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष धरम वहादुर लामिछाने, अध्यक्ष मिलन गुरुङ, र प्रमुख अतिथी गण्डकी प्रदेश खेलकुद पत्रकार मन्चका अध्यक्ष श्री एकराज गिरीले फुटबल खेलमा रेफ्रीको भुमिका मार्थी चर्चा गरेका थिए ।

सो अवसरमा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष श्री कृष्ण वहादुर थापा, एन्फा अडिट एण्ड कम्पलाईन्स कमिटिका सदस्य सुक वहादुर गुरुङ लगायत कास्की जिल्लाका फुटबल संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Post Comments