News कपिलवस्तुलाई कञ्चन गोल्डकपको उपाधि
सुरज राना मगर

कञ्चन । रुपन्देहीमा सम्पन्न कञ्चन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कपिलवस्तु–११ ले जित्न सफल भएको छ । गत महिना मात्र रुपन्देही कै मेनियामा सम्पन्न गैंडहवा अध्यक्ष कपको उपाधि जितेको कपिलवस्तुले शनिबार लगातार दोस्रो उपाधि जित्न सफल भएको हो ।

कञ्चन गाउँपालिका–४ दियो बजार स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा कपिलवस्तुले डिएमसी, तुल्सीपुरलाई २–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । कपिलवस्तुका लागि खेलको १७औं मिनटमा सन्जु सेन र ३७औं मिनटमा कप्तान रोशन सेनले गोल गरेका थिए ।

उता डिएमसीका लागि दोस्रो हाफको ६९औं मिनटमा सुरज घलानले एक मात्र सान्त्वना गोल फर्काएका थिए । दोस्रो हाफमा डिएमसीले खेलमा फर्कने प्रयास गरे तापनि सफल भएन । फाइनल खेलको म्यान अफ द म्याच कपिलवस्तु कै सन्जु सेन घोषित भए । उनले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि जितेका थिए ।

विजेता बनेको कपिलवस्तुले उपाधिसहित १ लाख ५१ हजार हात पार्यो भने उपविजेता डिएमसीले १ लाख १ हजारमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ डिएमसी कै दिपेश परियार उत्कृष्ट गोलरक्षक चुनिए भने उत्कृष्ट डिफेन्डर पनि डिएमसी कै अनुप थापा बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर भने कपिलवस्तुका कप्तान रोशन सेन घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही ५१–५१ सय हात पारे । विजयी खेलाडीहरुलाई पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक हिमालय सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रकाश थापा लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–४ दियो बजारको आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ, रुपन्देहीको सह–आयोजनामा यहि फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका गरि कुल ८ टोलीहरुको सहभागिता रहेको प्रचार प्रसार संयोजक टिका थापा मगरले जानकारी दिए ।

 

Post Comments