News सहज जितका साथ शेर्पा क्वाटरफाइनलमा
गोलनेपाल

धनगढी । सहज जित हात पार्दै हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ शेर्पाले नव जनजागृति युवा क्लबलाई ४–० ले हराउँदै क्वाटरफाइनल स्थान पक्का गरेको हो । शेर्पाको जितमा म्यान अफ द म्याच समेत घोषित उर्लिच सिवेले दुई गोल गरे । उनले खेलको ४१ र ५७औं मिनटमा लगातार दुई गोल गरेका थिए ।

त्यसअघि धनगढी रंगशालामा भएको एकपक्षीय खेलमा शेर्पाका लागि शुरुवाती गोल भने ३०औं मिनटमा बिकास मेराग्लियाले गरेका थिए । मोफसलमा नेपाली मूलका इटालीयन खेलाडी बिकासको यो डेब्यु गोल समेत थियो । उनले हालै सम्पन्न ए डिभिजन लिगमा च्यासल युथ क्लबका लागि खेलेका थिए ।

त्यस्तै शेर्पाका लागि चौथो गोल ८१औं मिनटमा पूर्ण बहादुर गुरुङले गर्दै टोलीको जित पक्का गरेका थिए । प्रतियोगिता अन्तरगत फागुन २२ गतेको क्वाटरफाइनल खेल फ्रेण्डस क्लब र एभनिर फुटबल क्लब, क्यामरुन बीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments