News झापा गोल्डकपमा सातदोबाटोको विजयी शुरुवात
रमेश समदर्शी

बिर्तामोड । भर्खरै सम्पन्न ए डिभिजन लिगमा बढुवा भएकै सिजन उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटो युथ क्लबले शनिबारदेखि शुरु प्रतिष्ठित नेपाल आइस पाँचौं झापा गोल्डकपमा विजयी शुरुवात गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा सातदोबाटोले जावलाखेल युथ क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलको तेस्रो मिनट मै अजयी मार्टिन्सको गोलबाट अग्रता बनाएको सातदोबाटोले त्यसलाई केहीबेर मै गुमाउन पुग्यो । ११औं मिनटमा जावलाखेलका लागि जुनियरले बराबरी गोल गरे । त्यस्तै ३३औं मिनटमा जुनियरले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

यद्यपि जावलाखेल पनि धेरैबेर सम्हालिन सकेन । खेलको ४७औं मिनटमा आशिष राईले सातदोबाटोका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने जावलाखेल चुक्न पुग्यो । यो जितसँगै सातदोबाटो क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

खेलमा सातदोबाटोका गोलरक्षक अभिषेक बराल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत ट्रफीसहित नगद ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन २२ गते आइतबारको खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् ।

 

Post Comments