News सहज जितका साथ आर्मी झापा गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

बिर्तामोड । सहज जित निकाल्दै पूर्व विजेता त्रिभुवन आर्मी फुटबल क्लब जारी नेपाल आइस पाँचौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार डोमालाल राजवंशी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले भारतीय टोली एमएफसीमाथि ३–० को उत्कृष्ट जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल शुरु भएको दशौं मिनटमै सन्तोष तामाङले आर्मीका लागि पहिलो गोल गरेका थिए । पहिलो हाफ कै ३५औं मिनटमा जर्ज प्रिन्स कार्कीले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफको ६८औं मिनटमा बिकास तामाङले आर्मीका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा आर्मीका बिकास तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन २६ गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक झापा–११ एफसी र आरपी एफसी, सिक्किमबीच हुनेछ ।

यहि फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १० टोलीहरु सहभागि छन् ।

Post Comments