News चौथो सैनामैना मेयर कप शुरु, मुर्गियाको बिजयी शुरुवात
सुरज राना मगर

सालझण्डी । यहाँ शुरु चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगितामा मुर्गिया एफसीले विजयी शुरुवात गरेको छ । सालझण्डी १० स्थित पानबारी खेलमैदानमा भएको उद्घाटन खेलमा मुर्गियाले कञ्चन–११ लाई सडन डेथमा ५–४ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

यो जितसँगै मुर्गिया प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलमा मुर्गियाका कप्तान तथा गोलरक्षक राकेश गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार १११ रुपैयाँ र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन २९ गते आइतबारको खेल गोर्खा ब्वाईज स्पोर्टस क्लब र एकता युवा क्लबबीच हुने प्रचार प्रसार संयोजक रेजिन श्रेष्ठले जानकारी दिए ।

कन्दरा युवा क्लब, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका र सैनामैना खेलकुद समितिको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५, ५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर केसीले गरेका थिए । सो अवसरमा उपप्रमुख बिना राना, सैनामैना खेलकुद समितिका अध्यक्ष अमर लम्साल, कन्दरा युवा क्लबका अध्यक्ष तुल्सी पौडेल लगायतकाच अतिथीहरुको पनि उपस्थिति रहेको थियो । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत्र १० गतेका दिन हुनेछ ।

Post Comments