News अभिषेक चर्चलाई दोस्रो सुस्ता अध्यक्ष कपको उपाधि
सुरज राना मगर

नरसही । यहाँ सम्पन्न दोस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च, रजहरले जित्न सफल भएको छ । फाइनलमा अभिषेक चर्चले टाईब्रेकरमा नव युवा क्लब, सुर्यनगरलाई ३–० ले हराउँदै उपाधि माथि कब्जा जमाएको हो ।

सुस्ता गाउँपालिका–४, नरसही स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । अभिषेक चर्चका लागि अब्दुलाले २ गोल गरे भने सञ्जोग महर्जनले एक गोल गरेका थिए । उता नव युवाका लागि आशिष जिसीले ह्याट्रिक गरेका थिए । यद्यपि टाईब्रेकरमा भने नव युवा क्लब चुक्न पुग्यो ।

विजेता बनेको अभिषेक चर्चले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता नव युवा क्लबले १ लाखमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलको म्यान अफ द म्याच नव युवाका आशिष जिसी चुनिए । उनले सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक अभिषेक चर्चका अनिल राना घोषित हुँदा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी अभिषेक चर्च कै सञ्जोग महर्जन चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार नगद र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय बहादुर शाही, व्यक्तिगत विधातर्फका पुरस्कार प्रायोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय सदस्य डा. सुवास चन्द्र चौधरी, सुस्ता गाउँपालिका, नवलपरासीका अध्यक्ष राम प्रसाद पाण्डे, उपाध्यक्ष इन्द्र कुमारी थरुनी लगायतले पुरस्कृत गरेका थिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा एकता युवा क्लब र जरलैया युवा क्लब, नरसहीको व्यवस्थानमा गत फागुन १४ गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments